मादी नगरपालिका –१ स्थित कार्की परिवारकोे हत्या गरिएको घर ।
सङ्खुवासभा — सङ्खुवासभा मादी नगरपालिका–१ उमलिङको खोलागाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गत सोमबार भएको घटनामा एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आशङ्कमा प्रहरीले आज शनिबार बिहान २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड र घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले अनुसन्धानका लागि ती युवकलाई पक्राउ गरेको थियोे ।

प्रहरीले पक्राउ गरिएका ति युवकलाई भोली आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ । पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ । सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले आइतबार चैनपुरमा सार्वजनिक गरिने बताए । पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन । तर, उनको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले बताएको छ ।

यसअघि उक्त हत्याकाण्डमा सम्लग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताउँदै आएको थियो । शुक्रबार थप एक जना शङ्कास्पद व्यक्तिमाथि अनुसन्धान अघि बढाएको र शुक्रबार नै एक जना छिमेकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका छिमेकीको घर घटना घटेको घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेको प्रहरीले बताएको छ ।

घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) र सङ्घीय इकाई प्रहरी कार्यालय धरानसमेतको ठूलो टिम परिचाल गरिएको थियो । मादी नगरपालिका–१ स्थित ५२ वर्षका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको सोमबार बिहान शव फेला परेको थियो । तेजबहादुर कार्कीसहित ८४ वर्षकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, ३२ वर्षकी बुहारी रञ्जना कार्की, ८ वर्षका नाति दीपक र ५ वर्षकी नातिनी गोमा कार्कीको हत्या भएको थियो ।