तस्वीर: एएफपी ।

काबुल— तालिवानले अफगानिस्तानमाथि आफ्नो कब्जा जमाए पछि आफ्नो सत्ता विरुद्ध अभिव्यक्ति दिनेहरु माथि हिंसात्मक कारवाहीमा उत्रेको छ । पछिल्ला दिनमा अफगानिस्तानको राजधानी काबुलसहित देशका विभिन्न ठाउँमा तालिवानविरोधी प्रदर्शन भइरहेका छन् ।
तालिवानले नागरिकहरुमाथि गरेको हिंसात्मक कारवाहीलाई लिएर संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । तालिवान लडाकुहरुले गत अगस्ट १५ तारिखका दिन देशको राजधानी काबुललाई नियन्त्रणमा लिएपछि अफगानिस्तानमाथि पूर्णरुपमा कब्जा जमाएको थियो । तालिवानले २० वर्ष पछि पुनः अफगानिस्तानको सत्तामा फर्किएको छ । उसले अन्तरिम सरकार समेत गठन गरिसकेको छ ।


अफगानिस्तानमा विशेषगरी महिलाहरुले तालिवानको कार्यशैलीप्रति विरोध प्रदर्शन गरिरहेका छन् । महिला अधिकारको सम्मान तथा स्वतन्त्रताको मागसहित अफगानिस्तानका विभिन्न क्षेत्रमा प्रदर्शन हुँदै आएको छ । उक्त प्रदर्शनमा तालिवानले बल प्रयोग गरेको छ । विरोध प्रदर्शन र तालिवानले गरेको दमनबारे समाचार सङ्कलन गर्न पुगेका पत्रकारहरुमाथि समेत तालिवानीहरुले मरणासन्न हुनेगरी कुटपिट गरेका छन् । पत्रकारहरुलाई प्रदर्शनस्थलबाट प्रहरी चौकीमा लगेर घण्टौ नियन्त्रणमा लिई निर्घात कुटपिट गरेर छोडेको छ । ति पत्रकारहरुलाई विरोधलाई संगठित गरेको आरोप लगाउँदै डन्डा, विद्युतीय तार र कोर्राले हिर्काएको उनीहरूले बताएका छन् ।


निर्घात कुटाइ खाएका पत्रकार नक्दी र उनका सहकर्मी ताकि दर्याबी इतिलात रोज (इन्फरमेसन डेलि) का रिपोर्टर हुन् । उनीहरू काबुलको प्रहरी चौकी अगाडि महिलाहरूले काम र शिक्षाको माग गर्दै गरेको आन्दोलनको समाचार सङ्कलन गर्न पुगेका थिए । समाचार सङ्कलनका क्रममा उनीहरुले तालिवानले गिरफ्तार गरेर चरम यातना दिएको हो ।

पछिल्ला प्रदर्शनको क्रममा तालिवानी लडाकुले चारजनाको हत्या गर्नुको साथै प्रदर्शनकारीमाथि लौरी, डोरी तथा गोलाबारुदले आक्रमण गरेको गरेको संयुक्त राष्ट्रसंघले बताएको छ । तालिवानीको यो क्रियाकलाप प्रति संयुक्त राष्ट्रसंघले भर्त्सना गरेको हो ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तका प्रवक्ताले जारी गरेको विज्ञप्ति ‘शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनु पर्ने अधिकारको प्रयोग गरिरहेका सर्वसाधारण तथा त्यसको समाचार सङ्कलन गरिरहेका पत्रकारमाथि भइरहेको बल प्रयोग तत्काल रोक्नका लागि हामी तालिवानसँग माग गर्छौं’ भनिएको छ । संयुक्त राष्ट्रसंघकी प्रवक्ता रविना शम्दासनीले हिजो शुक्रबार पत्रकार सम्मेलनको क्रममा तालिवानले प्रदर्शनकारीमाथि गरिरहेको व्यवहारको आलोचना गरेकी हुन् ।


तालिवानले सत्ता आफ्नो कब्जामा लिएपछि समावेशी शासन चलाउने प्रतिबद्धता व्यक्त गरेको थियो । तरपनि तालिवानले आफ्नो शासनकोविरुद्ध बढिरहेको विरोधलाई दबाउन हिंसामा उत्रिएको छ ।