काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार देशभरको मौसममा आंशिक बदली हुनेछ । देशका धेरै भू–भागमा सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् ।

नेपालमा अहिले भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बङ्गालको खाँडीको मध्यपूर्वी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । यस्तै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भै प्रदेश एकका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो पनि देशभर सामान्य बदली हुने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैबीच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।