काठमाडौं– एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत भएको खेलमा नेपालले पपुवा न्युगिनी दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो जित निकालेको छ । नेपालले पपुवा न्युगिनीसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । यी दुवै खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको हो । यसअघिको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । यो जितसँगै नेपालले २ खेलको श्रृङ्खला क्लिन स्वीप ग¥यो ।

शुक्रबार बेलुका ओमानमा भएको खेलमा २ सय ३४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.१ ओभरमा ८२ रनमा समेटियो । पपुवा न्युगिनीलाई सस्तोमै समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए । उनले ५.१ ओभरमा केवल ११ रन खर्चिएका थिए ।

त्यसैगरी सोमपाल कामी, बिक्रम सोँब, सुसन भारीले १/१ विकेट लिन सफल भए । पपुवा न्युगिनीले ९ ओभरमा २ विकेट गुमाएर ४३ रन जोडेको अवस्थामा सन्दीपलाई १० औँ ओभरमा बलिङमा पठाइएको थियो । त्यत्तिबेला पपुवा न्युगिनीले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरिसकेको थियो । तर सन्दीपले आफ्नो पहिलो ओभरमै लयमा रहेका टोनी उरालाई रनआउट गरे । उनले आफूले बलिङ गरेका सबै ओभरमा विकेट हात पारेका थिए । सन्दीपले १२, १४, १५, र १६ औं ओभरमा १÷१ विकेट लिएका थिए भने १८ औं ओभरमा २ विकेट र २० औं ओभरमा १ विकेट हात पारेका थिए । नेपालले यसअघि पपुवा न्युगिनीलाई २ सय ३४ रनको लक्ष्य दिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन जोडेको थियो । नेपालका लागि रोहित पौडेलले ८६ र कप्तान ज्ञानेन्द्र मल्लले ४५ तथा करण केसीले ४२ रनको योगदान गरेका थिए । ९ रन जोड्दा दुवै प्रारम्भिक ब्याट्सम्यानलाई गुमाएको नेपालका लागि ज्ञानेन्द्र र रोहितबीच तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र तेस्रो विकेटका रुपमा आउट भएपछि क्रिजमा आएका विनोद भण्डारीसँग रोहितले ४१ रनको साझेदारी गरेका थिए । विनोदले १७ रन जोडेका थिए ।

नवौँ नम्बरमा ब्याटिङमा आएका करणले आक्रामक ब्याटिङ गर्दै २६ बलमा सात छक्का र दुई चौका प्रहार गरे । करण र रोहितबीच सातौँ विकेटका लागि ६६ रनको साझेदारी भएको थियो । रोहितले १ सय २३ बलमा ३ छक्का र २ चौका प्रहार गरे । नेपालले अन्तिम ६ बलमा ४ विकेट गुमाएको थियो । रोहितले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रोपटक अर्धशतक बनाएका हुन् । पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । त्यस खेलमा रोहितले अविजित ४१ रन बनाएका थिए । नेपालले अब विश्वकप लिग २ अन्तर्गत ओमनमै ओमन र अमेरिका सम्मिलत त्रिकोणात्मक श्रृङ्खला खेल्नेछ । यो श्रृंङ्खला सोमबारदेखि सुरु हुनेछ ।