काठमाडौं – प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका कारण चल्न सकेन । सभामुख अग्नि सापकोटामाथि प्रश्न उठाउँदै संसद्मा प्रमुख प्रतिपक्ष दलले नाराबाजी गरेर संसद् चल्न नदिएको हो । बैठकको शुरूमै एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको भन्दै संसद् चल्न नदिने बताए ।

‘नेकपा एमालेले कारबाही गरेका सांसदलाई बचाउन र नेकपा एमाले टुक्य्राउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसद्मा हामी जोडदार रूपमा उठाउन चाहन्छौं,’ उनले भने । प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान, कानून, नियम, विधि सारा विषय उल्लंघन गरिएको आरोप लगाए । आफूले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई मान्यता नदिएको भन्दै एमाले सभामुखसँग आक्रोशित भएको थियो । एमालेले नाराबाजी शुरू गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका थिए ।

उनले एमालेले उठाएको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताए । एमाले सांसदहरूले सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटा चर्काे शब्दमा बोलेका थिए । उनले सांसदहरूलाई मर्यादाबाहिर नजान चेतावनीसमेत दिए । ‘माननीय सदस्यहरू देशमा संविधान छ, कानून छ, ऐन छ मर्यादाबाहिर नजानुहोला, संसद्को गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला’ उनले भने, ‘फेरि पनि म भन्छु प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।’ पहिलो र दोस्रो बैठक एमाले सांसदहरूले अवरुद्ध गरे । १५÷१५ मिनेट स्थगित गर्दै सभामुखले तेस्रो बैठक शुरू गरे ।

तेस्रोपटक सभामुखले जबरजस्ती बैठक चलाउन खोजेपछि एमाले झनै आक्रोशित बनेको थियो । सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरूलाई मर्यादापालकले रोके । त्यसक्रममा एमाले सांसद गंगा चौधरी भने रोस्टममै उक्लिने प्रयास गरेकी थिइन् ।

उनले गृहमन्त्री बालकृष्ण खाँडलाई जसरी पनि रोक्ने भन्दै रोस्टम चड्न खोजेपछि मर्यादापालकले रोकेका थिए । एमालेको निरन्तर अवरोधपछि संसद् बैठक आगामी शुक्रवारसम्म स्थगन भएको सभामुखले जनाउ दिएका थिए । संसद् अघि बढ्न नसक्दा बुधवारको कार्यसूचीमा रहेका दर्जनौं अध्यादेश सरकारले संसद्मा टेबल गर्न पाएन । एमालेकै अवरोधका कारण बुधवार बोलाइएको राष्ट्रिय सभा बैठकसमेत चल्न पाएन । (आर्थिक अभियान बाट)