काठमाडौं – साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्से लगातार उच्च अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार १०८ दशमलव २६ अङ्कले घटेको बजारमा सोमबार १६२ अङ्कको वृद्धि भएको थियो । तर, मङ्गलबार र बुधबार भने लगातार बजारमा उच्च गिरावट देखिएको हो ।


हिजो मङ्गलबार ४४ दशमलव १८ अङ्कले घटेको बजार आज बुधबार ६० दशमलव ०२ प्रतिशतले तल झ¥यो । यो २ दशमलव ०४ प्रतिशतको गिरावट हो । बुधबार २८७६ दशमलव ५९ बिन्दुमा झरेर कारोबार बन्द भएको छ । बजारमा उच्च अंकको गिरावट र अस्थिरता देखिँदा लगानीकर्तालाई समेत अन्योलताको अवस्था सिर्जना गरेको छ । यसले कारोबार रकममा समेत ठूलो गिरावट आएको छ । बुधबार मात्र ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको थियो । कारोबार घट्नुलाई भने सामान्यतया लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेको बुझ्न सकिन्छ ।

बुधबार कुल २२५ कम्पनीको ७४ हजार ८९० वटा कारोबार भएको छ । यसबाट १ करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर किनबेच भएको छ । यस दिन सबै परिसूचक राताम्मे रहे । सबैभन्दा बढी गुमाउने लगानीकर्ता वित्त, अन्य, विकास बैंक, व्यापार, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा कम्पनीका रहेका छन् ।

बुधबार सबैभन्दा बढी कमाउने कम्पनीमा सानिमा लाइफ इन्स्यारेन्सका लगानीकता रहे । यो कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भयो । एक्सेल विकास बैंक, राइ¥याङ हाइड्रो, यूनिर्भसल पावर र स्वरोजगार लघुवित्त विकास बैंकको शेयरमूल्यमा वृद्धि देखियो । बढी गुमाउने लगानीकर्ता भने लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुडवील फाइनान्स, नविल समृद्धि फण्ड, सिभिल लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्सका लगानीकर्ता छन् । बुधबार सबैभन्दा धेरै कारोबार युनाइटेड मोदी हाइड्रोपावरको ४० करोड ५७ लाख ७५ हजार रुपैयाँ बराबरको भएको छ ।