भियतनामका एक युवकलाई कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लागू गरिएका नियम उल्लङ्घन गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । भियतनामको एक अदालतले कोरोना भाइरसको सङ्क्रमण फैलाएको आरोपमा वान ट्री नाम गरेका ती व्यक्तिलाई पाँच वर्षको जेल सजाय सुनाइएको हो ।

आठ जना व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण सारेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो । सङ्क्रमितमध्ये एक व्यक्तिको मृत्यु भइसकेको छ । जेल सजाय सुनाइएका २८ वर्षका ती युवक गएको जुलाईमा मोटरसाइकल चढेर होची मिन्ह सहरबाट आफ्नो घर मा पुगेका थिए । माऊमा उनले आइसोलेसन नियमको पालना गरेनन् र हो ची मिन्हबाट आएको कुरा पनि सरकारी अधिकारीहरूलाई जानकारी दिएनन् ।

त्यतिबेला स्थानीय नियमानुसार बाहिरबाट आउने कुनै पनि व्यक्तिले कम्तीमा २१ दिन आइसोलेसनमा रहनुपर्ने अनिवार्य थियो । तर आइसोलेसन नबसेका ती व्यक्तिमा पछि कोरोना सङ्क्रमण पुष्टि भयो र उनको परिवारका सदस्यमा पनि सङ्क्रमण देखियो । दोषी ठहर भएका ती व्यक्तिलाई अदालतले पाँच वर्षको जेल सजायका साथै ८८० डलरको जरिवाना पनि तोकेको छ । भियतनाममा कोरोना भाइरस सङ्क्रमणको पहिलो लहरमा कम क्षति भए पनि दोस्रो लहरमा धेरै मानिसहरू सङ्क्रमणको चपेटामा परेका छन् ।