काबुल – तालिवानी लडाकुले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तीन सातापछि अन्तरिम सरकारको घोषणा गरको छ । हिजो मङ्गलबार साँझ तालिवानी संस्थापक एक सदस्य मोहम्मद हसन अखुँदको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको तालिवानी प्रवक्ता जबिउल्लाह मुजाहिदले बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

नवगठित अन्तरिम सरकारमा तालिवानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादरलाई उप–प्रधानमन्त्री बनेका छन् भने मुल्ला याकूब रक्षामन्त्री तथा सिराजुद्दीन हक्कानीलाई गृहमन्त्री बनाइएको छ । रक्षामन्त्री याकूब तालिबानका संस्थापक मुल्ला उमरका छोरा हुन् भने गृहमन्त्री बनेका हक्कानी अमेरिबी एजेन्सी एफबीआईको ‘आतङ्कवादी’ सूचीमा रहेका व्यक्ति हुन् । यसैगरी विदेशमन्त्रीको जिम्मेवारी आमिर खान मुत्तकीलाई दिइएको छ । नवगठित अन्तरिम सरकारमा कुनै पनि महिलालाई मन्त्री बनाइएको छैन ।

तालिवानका प्रवक्ता मजाहिदले यो ‘अन्तरिम सरकार हो, हामी पूर्ण सरकार गठनको योजनामा काम गर्नेछौं’ भनेको कुरा बीबीसीले उल्लेख गरेको छ । गत अगस्ट १५ मा तालिवानले अफगानिस्तालाई पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको थियो ।