फाइल तस्वीर

पपुवान्युगिनी (पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ । आज ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३९.३ ओभरमा पूरा ग¥यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन जोडे। उनले ६५ बलमा २ चौका प्रहार गरे । सोमपाल कामीले नटआउट २२ रन जोडे । उनले ३१ बलमा १ चौका र १ छक्का प्रहार गरे । मध्यक्रमका ब्याट्सम्यान लगातार आउट भएको अवस्थामा रोहित र सोमपालले सम्हालिएर ब्याटिङ गरेपछि नेपालको जित सम्भव भएको हो ।

ओपनरद्वय आसिफ शेख ३० रन र कुशल भुर्तेलले १५ रन बनाए। आसिफले ४६ बलमा ४ चौका हिर्काउदा कुशलले २८ बलमा २ चौका प्रहार गरे। दुवैले एकदिवसीय खेलमा डेब्यू गरेका हुन् । कप्तान ज्ञानेन्द्र मल्लले २० बल खेल्दा ६ रन मात्र जोड्न सके। यस्तै आरिफ शेख १९ बल खेलर ९ रन बनाएर आउट भए । शरद भेषवाकारले २२ बलमा ६ रन मात्र जोड्न सके। कुशल मल्ल १ रनमा आउट हुँदा पवन सराफ डकआउट भए । बलिङमा पिएनजीका गौडी टोकाले ३ विकेट लिए। डामियन राभू र चाड सोपरले २–२ विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पिएनजी ३३ ओभरमा १३४ रनमा अलआउट भयो ।

पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । विक्रम शोव र कुशल मल्लले २–२ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारे । पिएनजीका लागि लेगा सैकाले सबैभन्दा बढी ३० रन जोडे । नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअघि पिएनजीसँग एकदिवसीय खेल खेलेको हो । नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ । सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ। सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ । विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई–दुईं खेल खेलिसकेको छ । नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ ।