फाइल तस्वीर
पपुवान्युगिनीले नेपाललाई एकदिवसीय शृङ्खलाअन्तर्गत पहिलो खेलमा १३५ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाएको हो । पिएनजीका लागि लेगा शैकाले सर्वाधिक ३० रन बनाउँदा चार्लेस आमिनीले २३ रन जोडे। गाउडी टोकाले २२ रन बनाउँदा किपलिन दोरिगाले १५ तथा शेशे बाउले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् ।
पिएनजीलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका छन् । यस्तै विक्रम शोब, सोमपाल कामी र कुशल मल्लले समान २–२ विकेट हात पारेका छन् । नेपालका लागि डेब्यू खेलाडी विक्रम शोबले धारिलो बलिङ गर्दै सुरूवाती २ विकेट लिएका थिए । उनले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई एक रनमा बोल्ड गर्दै पवेलियनको बाटो देखाए । एकदिवसीय क्रिकेटमा डेब्यु जनाउने क्रममा विक्रमले दोस्रो सिकारका रुपमा उरालाई स्थानान्तरण गर्न क्रिजमा आएका कप्तान असाद भालालाई आउट गरे । चार रन बनाएका भेलालाई विक्रमले आरिफ शेखको हातबाट क्याच गराएका थिए ।
विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिदेशीय शृंखलाको तयारीका लागि नेपालले पपुवा न्युगिनीविरुद्ध दुई खेलको शृंखला खेल्न लागेको हो । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ । विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले अमेरिका र ओमानका राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्नेछ । त्रिदेशीय शृङ्खला भदौ २८ देखि असोज चार गतेसम्म ओमानमा हुनेछ ।