काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता त्रैमासिक रूपमा वितरण गर्ने भएको छ । यसअघि चौमासिक रूपमा वर्षमा तीन पटक भत्ता वितरण गरिँदै आएकोमा अब त्रैमासिक रूपमा वर्षमा चार पटक वितरण गर्न लागिएको हो । सरकारले वृद्धि भएको सामाजिक सुरक्षा भत्ताको विवरण पनि सार्वजनिक गरेको छ । यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले मासिक ३ हजार रूपैयाँ भत्ता पाउने गरेकोमा अब ४ हजार पाउनेछन् ।

यस्तै, अपाङ्गता भत्ता क वर्गको ३ हजार ९ सय ९० र ख वर्गको २ हजार १ सय २८ रुपैयाँ कायम गरिएको छ । यस्तै, लोपोन्मुख जातिलाई पनि अब मासिक ३ हजार ९ सय ९० रुपैयाँ भत्ता दिइनेछ । ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला र ज्येष्ठ नागरिक क्षेत्र तोकिएकाले २ हजार ६ सय ६० रुपैयाँ मासिक भत्ता पाउनेछन् । यस्तै, एकल महिलालाई २ हजार ६ सय ६० मासिक भत्ता सरकारले दिनेछ ।

अर्थमन्त्रीले नौ प्रकारका सामाजिक सुरक्षा भत्तादर ३३ प्रतिशतले वृद्धि गर्ने भनिए पनि वृद्धभत्ता भने बजेट वक्तव्यमार्फत नै ४ हजार पु¥याउने घोषणा गरेका थिए । त्यसैअनुसार रकम निर्धारण गरिएको हो । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि मात्र १ खर्ब रुपैयाँ विनियोजन भइसकेको छ ।