काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट गरेको छ । हिजो अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन संवाद गर्दै पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको थियो ।

यसको असरले सेयर बजारमा उछाल पनि देखिएको थियो । मौद्रिक नीतिपछि सेयर बजार ओरालो लाग्न थालेपछि लगानीकर्ताले अर्थमन्त्रीलाई गुहारेका थिए । यसकै आधारमा अर्थमन्त्री शर्माले धितोपत्र बजारमा देखिएका समस्या नीतिगत रुपमा सुल्झाउन आग्रह गरेको अर्थमन्त्री शर्माको निजी सचिवालयले जनाएको छ । तर, राष्ट्र बैंकले भने मौद्रिक नीतिले गरेका व्यवस्था पुनर्विचारका लागि कुनै छलफल र तयारी सुरु नभएको बताएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँ मात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम ल्याएको छ । राष्ट्र बैंकको यस्तो नियमले ठूला लगानीकर्ता मारमा परेका छन् । यसैको असरले शेयर बजार घटेको दावी लगानीकर्ताहरुको छ । अर्थमन्त्री शर्माले नै फोन गरेपछि जवाफमा गभर्नर अधिकारीले ‘आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएको’ मन्त्रालयले बताएको थियो ।