नेपालमा आदिमकालदेखि चल्दै आएको धार्मिक आस्थासँग जोडिएको मौलिक परम्परा हो –हरितालिका तीज । नेपाली हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको रौनक के गाउँ, के सहर जताततै फैलिएको छ । महिलाहरु आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् । जुन पर्वभित्र आफ्नै किसिमका मर्म र भावनाहरु संस्कारित हुँदै आएका छन् । नेपाली हिन्दु नारीहरुले पूर्वीय दर्शन अनुसार आनादीकालबाट नै यो पर्व मान्दै आएको प्रमाणहरु हिन्दु धर्मग्रन्थहरुमा पाउन सकिन्छ ।
यो पर्वलाई आरध्यदेव भगवान शिव र पार्वतीको जीवनलिलाबाट सुरु भएको पर्व पनि मानिन्छ । हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पति बनाउने तीव्र इच्छा पुरा हुन नसकेपछि यो व्रत बस्ने प्रचलन सुरु भएको पाइन्छ । अनादिकालमा सतिदेवीले आफ्नो देहत्याग गरेपछि भावविह्वल बनेका भगवान शिवलाई आफ्नो पति बनाउन पाउँ भन्ने मनसायबाट पार्वतीले व्रत बसेको कृष्ण पक्षको तृतीया तिथी नै हरितालिका तीजको रुपमा संस्कारित हँुदै आएको पाइन्छ । यहि मान्यतालाई आधार मानेर कयाँै वर्षदेखि नेपाली नारीहरुले यो दिन अति नै निष्ठापूर्वक कठोर निलाहार व्रत वस्ने चलन रहँदै आएको हो । यद्यपि, परिवर्तित समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ ।जुन हाम्रा पर्वहरुमा सहजै दृष्टिगोचर हुन्छन् ।
आधुनिक समयमा तीज पर्वको संवाहकका रुपमा आमसञ्चारका साधनहरुलाई लिन सकिन्छ । विशेषतः टेलिभिजन, एफ.एम रेडियो र टेलिफोनको प्रभावकारी भुमिका रहेको छ । पछिल्लो समय तीज पर्व निक्कै भड्किलो, खर्चिलो र उत्ताउलो बन्दै गएको छ । तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेका छन् । तीजको मौलिकता हराउन थालेको छ । मुख्यतः शहर बजारमा आफ्ना औकात र रवाफ प्रदर्शन गर्ने थलोका रुपमा होटल, महल र पार्टी प्यालेसले तीजको रौनकमा विकृति जन्माइदिएको छ । परम्परागत रीतिरिवाज र परिवर्तित समयसँगै तीज आउन महिनौ दिन अघिदेखि नै दर खाने, खुवाउने र बहुमुल्य गरगहनाहरु प्रदर्शन गर्ने होडबाजीले गर्दा पनि समाजमा हुने खाने र हुँदा खाने बीच विखण्डन ल्याउने खतरापूर्ण स्थित बढ्दै गएको छ ।
तीजलाई हामी शिव पावतीको कथासँग जोडेर बुझ्छौँ । पार्वतीले आफुले मनपराएको पात्र शिवसँग विवाह गर्नका लागि व्रत बसेको सन्दर्भ यो पर्वसँग जोडिएको छ । तीजको व्रत बसेपछि पार्वतीले शिवलाई पतिका रुपमा प्राप्त गरेको कुरा हिन्दु ग्रन्थमा पाइन्छ । यही मान्यतालाई आत्मसात् गदै विवाहित महिलाले आफ्ना श्रीमानको सु—स्वास्थ्य तथा दीर्घायुको लागि र अविवाहितले मनपराएको असल पति पाउँ भन्ने कामनाका साथ तीजको व्रत बस्ने प्रचलन रहिआएको छ ।
महिलाले आफ्नो जीवनको विषयमा आफैले निणर्य गर्ने अधिकार स्थापित गर्नका लागि पनि यो पर्व मनाउने गरेको पाइन्छ । यसरी बुझ्दा महिला हक अधिकार र स्वतन्त्रताको आवाज उठाउने पर्वका रुपमा पनि तीजलाई लिने गरिन्छ । महिलाका आर्थिक, सामाजिक, राजनीतिक अधिकार स्थापित गर्न र समानताको पैरवी गर्न पनि तीज गीतलाई माध्यम बनाउने गरिएको छ । एकथरी महिला तीज पर्वलाई धार्मिक आस्था र विश्वासका आधारमा मनाउने गर्छन भने अर्कोथरी राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वकालत गर्ने माध्यमका रुपमा पनि उपयोग गर्छन् । अन्धविश्वास र गलत परम्पराविरुद्ध सामाजिक जागरण फैलाउने माध्यमका रुपमा पनि यो पर्वको उपयोग गर्ने गरिएको छ ।
कुनैपनि चाडपर्वलाई गम्भीरतापूर्वक बुझ्ने हो भने तत्कालीन समाजमा सामाजिक, आर्थिक र राजनीतिक, अवस्था कस्तो थियो भन्ने तस्वीर देख्न सकिन्छ । तीजमा गाइने पुराना गीतका भाकाले तत्कालीन समाजमा सास,ु बुहारी र नन्द भाउजुको मनमा लागेका गुनासा पोख्ने माध्यम बनेको पाइन्थ्यो । अहिले दाजुभाई, दिदीबहिनीको सम्बन्धलाई नजिक बनाउन पनि तीजले महत्वपुर्ण भुमिका खेलेको छ । विभिन्न नाता सम्बन्धमा रहेका महिलाबीचको आपसी सद्भाव, मित्रता र एकता विकास भएको छ । हामीले सुन्दै आएको सासुबुहारी वा नन्दभाउजुको सम्बन्ध बिस्तारै पुर्नपरिभाषित हुँदै आमाछोरी र दिदीबहिनीको जस्तो बन्दै गरेको छ । आफन्त र परिवारमा मात्र सीमित चाडपर्वको दायरा फराकिलो हुदैँ गएको छ ।
हाम्रो समाजमा पैसा, पहिरन, विलासिता वा भौतिक सपन्नताको आधारमा सामाजिक हैसियत उच्च वा निम्न भनेर मान्यता दिने चलन छ, जसले गर्दा हाम्रा चाडपर्वहरुले पनि सामाजिक मान्यताको स्थान निर्धारण गर्ने थलो बनाँउदै गएका छन् । यसले गर्दा मानिसमा सकि नसकि चाडर्पवलाई रवाफिलो, भड्किलो र देखासिकी गर्ने चलन बढ्दै गएको पाइन्छ । हिजोसम्म सामाजिक सद्भाव र आपसी भाइचाराको राम्रो माध्यम बनेको यो पर्व अहिले हुदाँ खाने र हुनेखानेबीचको अन्तरलाई फराकिलो बनाउँदै छ ।
कतिपयले त अहिले तीजलाई आफ्नो हैसियतको मापन गर्ने थलोका रुपमा लिन थालेका छन् । महङ्गा पोशाकदेखि लाखौँ मूल्यका गर–गहना प्रदशर्नीका लागि एउटा अवसरको रुपमा समेत विकास हुदैँ गएको छ–तीज पर्व । त्यसैगरी तीज विशेषमा गाउने गरिएका पौराणीक गीतहरुमा समेत परिर्वतन हुदैँ गएको छ । हाल आधुनिक युगमा यो मौलिक परम्पराको रक्षा, सम्वद्र्धन र प्रवद्र्धन भन्दा पनि तीजलाई एउटा व्यावसाय गर्ने थलोको रुपमा लिन थालिएको छ । तीज सम्बन्धी गीत गाउने चलनमा समेत आमूल परिर्वतन हुँदै समाज र संस्कृतिको रक्षा भन्दा पनि विचलनतिर प्रवेश गरेको पाइन थालेको छ ।
संस्कार र संस्कृतिको रक्षा कसरी गर्ने भन्दा यो पर्वलाई टेकेर आफू कसरी चर्चामा आउने भन्नेमा कलाकारहरु पनि उद्धत रहेको पाइएको छ । यति सम्मकी मौलिक परम्पराको धज्जी उठाउँदै आफ्नो व्यवसाय ठान्ने कलाकारहरु पनि अहिले यो पर्वको मर्मलाई कुण्ठित गरीरहेका छन् । पछिल्लो समयमा आएर तीज पर्व वास्तविक पर्वभन्दा पनि महोत्सवको झल्को दिने गरी विकसित हँुदै गएको छ ।
हिन्दुहरुको आरध्यदेव भगवान शिवलाई लाखौँ महिलाहरुले उपासना गरिरहेका हुन्छन् । कसैलाई पोई चाहियो, कसैलाई नाङ्गै हिड्न पाउँ त कसैलाई आफ्नै जीवन भोगाइका कथनलाई समाहित गर्दै शिवजीको मन्दिर पुगेर भिडियो टिकटक बनाउने लहर चलेको छ । जहाँसम्म लाग्छ भगवान भन्ने वस्तु आस्थासँग जोडिएको विषय हो, जसले जे माग्यो तेही दिने सामथ्र्य सायद भगवान शिवसँग पनि छैन होला तर पछिल्ला दिनहरुमा हाम्रो समाजमा भए गरेका कार्यहरुले न त त्यो आस्थालाई नै बचाउन सकेको छ , न त हाम्रो मौलिक परम्परालाई नै गौरविलो बनाउन दिएको छ ।
मन्दिरमा शिवजीको दर्शन गरेर नाच्नुपर्ने पर्वमा डिस्कोमा तीज पोइल जान पाम् शिव जस्ता शव्द र भाकाले के सन्देश दिन खोजेको हो ? एक महिना अघिदेखि तीजमा दर खाने परम्परा, त्यसमाथि पनि ह्विस्की र रक्सी खानुपर्ने भए तीज किन मनाउने ?
प्राचिनकालमा तीजमा गाईने गीतको सुरुवात व्रतको बेला दिन कटाउनका लागि गाउने क्रममा भएको मानिन्छ । माइतीमा जाँदा दाजुभाई दिदीबहिनी बुबाआमालाई आफ्नो दुःख समस्या र पीडा पोख्नको लागि गीतको माध्यमबाट सुनाउँदा बढी रुचिकर र आकर्षित हुने भएकाले तीजमा गीत गाउने परम्पराको सुरुवात भएको हो । वर्षेबाली लगाइसकेपछिको फूर्सदको समयमा माइती जाँदा ती दुःख कष्टका भावलाई गीतका भाकामा गाइने गीत नै यथार्थपरक तीज गीत हो तर बदँलिदो परिवेशसँगै तीज गीतको नाममा आधुनिकता भन्दै सुन्नै र हेर्ने नमिल्ने शब्दका दृश्यहरुले गीतलाई बाढीको लहर जस्तै बनाउँदै लगेको छ ।
पारिवारीक जमघटमा मात्रै नभई सामाजिक राजनैतिक तथा संस्थागत रुपमा आयोजना गरिने तीज कार्यक्रमको समयावधि प्रतिवर्ष लम्बिदै गएका छन् । अनावश्यक रुपमा खर्चिलो बन्दै गइरहेको छ । तीज पर्वको मुख्य पक्ष नै गौण बन्दै अन्य पक्षले स्थान पाउँदै गइरहेको देख्दा आगामी दिनमा परम्परागत तीज पर्व नै विकृतिको चङ्गुलमा डुबुल्कि मार्ने हो कि भन्ने आशङ्का पैदा हुन थालेको छ ।