पत्रपत्रिकाबाट

काठमाडौं – क्रियाशील सदस्यताको टुङ्गो नलाग्दा २० जिल्लामा काङ्ग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ । समितिका अनुसार प्रदेश १ को मोरङ, २ का सप्तरी, सिराहा, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, लुम्बिनीका बाँके, बर्दिया र कपिलवस्तु, कर्णालीका सुर्खेत र डोल्पा तथा सुदूरपश्चिमका बाजुरा र कैलाली जिल्लामा सदस्यताको सूची अझै टुङ्गो लागेको छैन ।

समितिका सदस्य अधिवक्ता सीताराम केसीले क्रियाशील सदस्यता टुङ्गो लागेका ५७ जिल्लामध्ये सोमबारसम्म ४५ जिल्लाको वडा अधिवेशन सकिएको जनाए । अन्य जिल्लामा मंगलबारसम्म अधिवेशन सम्पन्न गर्ने तयारी छ । काङ्ग्रेसले आसन्न १४ औं महाधिवेशनका लागि भदौ १८ मा वडा तहको अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो । तर निर्धारित मितिमा वडा अधिवेशन हुन नसकेका जिल्लाको अन्य तहको निर्वाचन कार्यतालिका पनि प्रभावित हुने सम्भावना बढेको छ ।

सदस्यता छानबिन समितिका सदस्य रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले २० जिल्लाको सदस्यता दुई–तीन दिनभित्र टुंगो लाग्ने र वडा तहको अधिवेशन तोकिने बताए । ‘यसले गर्दा प्रदेश क्षेत्रको निर्वाचन कार्यतालिका प्रभावित हुन सक्छ,’ उनले भने, ‘त्यसपछिका निर्वाचन कार्यक्रम भने सँगसँगै अघि बढाइन्छ ।’ केन्द्रीय निर्वाचन समितिले भदौ २७ मा गाउँ तथा नगरपालिकाको निर्वाचन र असोज १ मा प्रदेश निर्वाचन क्षेत्रको निर्वाचन मिति तोकेको छ । सदस्यता छानबिन समितिका सदस्य एवं केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने धनुषा–४ बाहेक अन्य जिल्लाको सदस्यता विवाद लगभग समाधान भइसकेको बताए ।

सदस्यता सिफारिसमा निषेधका साथै पहुँचको भरमा सदस्यता वितरण गर्न खोज्दा सदस्यता विवाद बल्झिएको हो । केही जिल्लामा वडा, निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिले सदस्यता पाउनुपर्ने व्यक्तिलाई समेत सिफारिसबाट वञ्चित गरेका छन् । कतिपय जिल्लामा पार्टी समायोजनको नाममा अस्वाभाविक तबरले सदस्यता वितरण गर्दासमेत समस्या देखिएको विवादित जिल्लाका कांग्रेस नेताहरूको भनाइ छ ।

बाँके–१ का कांग्रेस नेता तप्त पौडेलले क्षेत्रीय समितिले फोरम लोकतान्त्रिक र राप्रपा ९सुनील भण्डारी० को नामबाट स्वाभाविकभन्दा धेरै व्यक्तिलाई सदस्यता दिन खोजिएको दाबी गरे । सुर्खेतको वीरेन्द्रनगरका ४ वडामा भने वडा समितिले वर्षौंदेखि पार्टीमा क्रियाशील व्यक्तिलाई सदस्यता सिफारिस नगर्दा विवाद केन्द्रमा पुगेको जिल्ला कार्यसमिति सदस्य रामबहादुर सिंहले बताए ।

सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामा पनि क्रियाशीललाई सदस्यता दिन खोज्दा अवरोध गरिएको बताउँछन् । ‘पार्टीमा योगदान गरेका व्यक्तिलाई सदस्यता दिइनुपर्छ, गैरकाङ्ग्रेसलाई वञ्चित गरिनुपर्छ,’ उनले भने, ‘हामीले यही विधिमा अघि बढौं भन्दा अनावश्यक विवाद बढेको छ ।’ (कान्तिपुर दैनिकबाट )