बीबीसी – अफगानिस्तानको पञ्जशीर प्रान्तको पूरा नियन्त्रण आफ्नो हातमा भएको तालिबानले दावी गरेको छ । तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक बयान जारी गर्दै आफ्नो नियन्त्रण नभएको अफगानिस्तानको अन्तिम इलाका अब उसको कब्जामा भइसकेको जानकारी दिएका छन् । यद्यपि, तालिवानविरुद्ध लडिरहेको विरोधी बल नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले यो दावी अस्वीकार गरेको छ ।

एनआरएफका प्रवक्ता अली मेसमले बीबीसीसँग भने, ‘यो साँचो होइन, तालिवानले पञ्जशीरमाथि कब्जा जमाएको छैन । म यो दावी अस्वीकार गर्छु ।’ तर सोसल मिडियामा सार्वजनिक भइरहेका तस्वीरमा तालिवान लडाकू प्रान्तिय गभर्नरको कम्पाउन्डको ढोका अगाडि उभिरहेको देखिएका छन् । बीबीसीले स्वतन्त्र रुपमा यसको पुष्टि नगरेको बताएको छ ।

आइतबार विरोधी गुटको अफगानका नेता अहमद मसूदले आफूहरु तालिवानको सैन्य अभियान रोक्नका लागि शान्तिवार्ताका लागि इच्छुक भएको बताएका थिए । तालिवानले आफ्नो बयानमा अफगानका जनताले अब शान्तिपूर्ण, समृद्ध जीवन, स्वतन्त्रताको आनन्द र भाइचारा प्र्राप्त गर्ने बताएको छ । एजेन्सी