काठमाडौं – गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । वर्षाका कारण उपत्यकाका खोला किनारामा रहेका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।

बागमती र धोबिखोलामा आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अवरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने बाढी पूर्वसूचना केन्द्रले जनाएको छ ।

केन्द्रले भनेको छ, ‘उपत्यका भइ बहने साना नदीहरुमा जलसतह बढ्दो हुँदा केही साना नदी–नालाको पानी सडक किनारसम्म आउन सक्छ, किनारको सडक भइ यात्रा गर्दा सतर्कता अपनाऔं ।’ हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । लुम्बिनी, बागमती, गण्डकी र दुई नं प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन सहितको मध्यम वर्षा भइरहेकाले सुरक्षित अवस्थामा रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।