फाइल तस्वीर : बीबीसी

पन्जशिर – अमेरिकी गठबन्धनको सैन्यदस्ताले अफगानिस्तान छोडेपछि त्यहाँको अवस्था गृहयुद्धतिर उन्मुख भएको छ । पन्जशिर उपत्यकामा तालिवान प्रतिरोधी मोर्चा र तालिवान लडाकुहरुबीच भीषण युद्ध चलिरहेको छ । यसैक्रममा प्रतिरोधी मोर्चाका नेता अहमद मसौदले धार्मिक नेताहरू (मौलवीहरू)ले अघि सारेको वार्ताबाटै समाधान गर्ने योजनालाई आफूले समर्थन गरेको बताउँदै तालिवानलाई आक्रमण रोक्न आह्वान गरेका छन् । यसैबीच एउटा फेसबुक पोस्टमा मसौदले तालिबानले आक्रमण रोके पूर्व अफगान सुरक्षा बलका सदस्यहरू र स्थानीय मिलिसियाहरू रहेको नेशनल रेसिस्टेन्ट फ्रन्ट (एनआरएफ) वार्ताको लागि तयार रहेको बताएका छन् । यसबारेमा तालिवानले कुनै प्रतिक्रिया जनाएको छैन ।

तालिवानले अफगानिस्तानलाई सबै प्रान्तीय राज्यलाई आफ्नो कब्जामा लिए पनि पन्जशिरलाई भने कब्जामा लिन सकेको थिएन । यसअघि तालिवानले तीव्र रूपमा पन्जशिरको क्षेत्र आफ्नो हातमा लिएको दावी गरेको थियो । राजधानी कावुलदेखि उत्तरमा रहेको पन्जशिर उपत्यकालाई तालिवान शासन प्रतिरोधको अखडाको रुपमा लिइन्छ ।

अगस्ट १५ मा तालिवान लडाकुले छोटो समयमै अफगानिस्तानको यो उपत्यका बाहेक प्रायः सबै भूभागलाई आफ्नो नियन्त्रणमा लिइसकेको थियो । यसअघि तालिवानले आफ्नो फौज पन्जशिरको प्रान्तीय राजधानी बजारकमा पुगेको दावि गरेको थियो । यो दावीलाई एनआरफले तालिवानको भनाइ झुठोभन्दै खण्डन गरेको थियो ।

पहाडले घेरिएको उपत्यका पन्जशिर सन् १९८० को दशकमा तत्कालीन सोभियत र सन् १९९६ देखि २००१ सम्ममा तालिवान शासनको प्रतिरोधको केन्द्र समेत थियो । यो उपत्यकामा अहिले करिब दुई लाख मानिसहरुको बसोबास रहेको समाचारमा उल्लेख छ ।