काठमाडौं – मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् । भवनहरु जिर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् ।
त्रिचन्द्र क्याम्पस भूगर्व शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेल कलेजका भवनहरुमा पानी चुहिने, गाह्रो भत्किएको र केही कक्षाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएर ढलेको बताउनुहुन्छ । कलेजका भवनहरुमा २० सेन्टीमिटरसम्मको धाँजा परेको र त्यहाँ जान पनि डरलाग्ने ठाउँमा अहिलेसम्म भवनको जिर्णोद्धार नगरिदिँदा बाध्य भएर कलेजको पठनपाठन सञ्चालन गरिरहनुपरेको अवस्था आएको छ ।

विभाग प्रमुख गजुरेल भन्नुहुन्छ, ‘यो भवनको अवस्था दक्षिणपटि म्याथम्याटिक्सको कक्षा सञ्चालन हुने ठाउँ पूर्ण रुपमा क्षतिग्रस्त भएर ढलेको छ, २०७२ देखि हामी त्यहाँ छिर्न सकेका छैनौँ, त्यहाँ धेरै ठूलो धाँजा छ, २०७२ को भूकम्पले क्षति भएपछि यो भवनमा रातो स्टीकर टाँसिएको थियो, केही समय यसलाई पूरै छोडेर सरस्वती सदनमा दुःखका साथ सञ्चालन गरेका थियौँ, तर केही सीप नलागेपछि हामी यता सरेका हौँ, तर अहिलेसम्मको स्थितीमा कुनै पनि जिर्णोद्धार भएको छैन, माथिबाट ढुङ्गा खस्छ, विद्यार्थी, शिक्षक र कर्मचारीहरुको सुरक्षाको लागि धेरै जोखिम मोल्नुपरेको छ, यो बाध्यात्मक कुरा हो ।’

अहिले विद्यार्थीहरूले त्रिचन्द्र कलेजको पुनर्निर्माण गरी यसको इतिहास बचाउन सरकार समक्ष माग गरेका छन् । त्रिचन्द्र कलेज विद्यालय मात्र नभइ सम्पदा र इतिहासको प्रतिमूर्ति रहेको भन्दै नेपाल विद्यार्थी सङ्घले विभिन्न प्लेकार्ड लिएर क्याम्पसको यथाशीघ्र पुनर्निर्माणको माग गर्दै कलेज परिसरमा प्रदर्शन गरेका हुन् ।

सन् १९१८ मा स्थापना भएको नेपालको उच्च शिक्षाको सबैभन्दा पुरानो कलेज हो– त्रि–चन्द्र क्याम्पस । यसलाई तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले निर्माण गर्नुभएको थियो । तर, अहिले वि.सं २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण यसको संरक्षण नहुँदा कलेज नै जीर्ण अवस्थामा पुगेको छ । फलस्वरुप विद्यार्थीहरूले यसको संरक्षणका निम्ति कलेज परिसरमा प्लेकार्ड लिएर प्रदर्शन गरिरहेका छन् ।

औपचारिक र उच्च शिक्षा थालनी गरेको कलेजको अवस्था अहिले दयनीय रहेको देखिन्छ । २०७२ सालको महाभूकम्पबाट जीर्ण र क्षतिग्रस्त भएको अवस्थालाई हालसम्म कतैबाट पनि प्रवलीकरण गर्न नसक्नु दुखद कुरा हो । नेपालकै इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माण हुन नसक्दा इतिहासबाटै मेटिने आशङ्का उब्जिन थालेको छ ।