काठमाडौं – कीर्तिपुर नगरपालिकामा ‘मास्क बिना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनु पर्ने भएपछि कीर्तिपुर नगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो । आज आइतबार बिहान कीर्तिपुरमा सो अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोनाको सङ्कटबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन जनचेतना जगाउनका लागि सो अभियान सञ्चालनमा ल्याइएको बताउनुभयो ।

कीर्तिपुर नगरपालिकाले मानिसहरुको भीडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने भएकाले सो अभियान संचालनमा ल्याउनु परेको पनि स्पष्ट पारेको छ । त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को पनि स्थापना गरिएको छ । सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा वितरण गर्न सो बैंकको स्थापना गरिएको पनि मेयर महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कीर्तिपुरको हकमा मास्कको सुनिश्चितता शुभारम्भ गरेका छौँ । यसलाई निरन्तरता दिँदै हामीले यहाँका विभिन्न सार्वजनिक स्थलहरुमा, कार्यस्थलहरुमा ‘मास्कविना प्रवेश निषेध’ भन्ने अभियानको प्रारम्भ गरेका छौँ ।’

कार्यक्रममा बोल्दै उपमेयर सरस्वती खड्काले सो अभियानलाई साथ दिएर कोरोना सङ्कटबाट बच्न सबै नागरिकहरुलाई अपिल गर्नुभयो । उहाँले भीडभाडमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन भुल्न नहुने पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा युनिसेफ, लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरलगायतका सामाजिक सङ्घसंस्थाहरुले मास्क बैंकमा मास्क उपलब्ध गराएका थिए । सो मास्क सबै वडाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।