काबुल – अफगानिस्तानको राजधानी काबुलको उत्तरमा अवस्थित पञ्जशीर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त मध्ये एक हो । यो एक मात्र यस्तो प्रान्त हो जसलाई तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन । तालिबान र स्थानीय विद्रोहीबीच पञ्जशीर कब्जाका लागि लडाई जारी छ । शनिबार पनि भीषण युद्ध भएको खबर छ । दुवै पक्षले पञ्जशीर आफ्नो नियन्त्रणमा आइसकेको दाबी गरे पनि त्यहाँको स्थिति स्पष्ट नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अमेरिकी सेना फर्केलगत्तै तालिबानले पञ्जशीरबाहेक अफगानिस्तान आफ्नो नियन्त्रणमा लिइसकेको छ । यसअघि सन १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेका बेला पनि पञ्जशीर तालिबानको नियन्त्रणमा थिएन । तालिबानका एक प्रवक्ता बिलाल करिमीले पञ्जशीरको खिन्ज र उनाबाह जिल्ला आफ्नो नियन्त्रणमा आइसकेको दाबी गरेका छन् । उनले प्रान्तका ७ जिल्लामध्ये चार जिल्लामा आफूहरूले नियन्त्रण कामय गरिसकेको बताए । तर, अफगानिस्तानको राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) का स्थानीय नेता अहमद मसूदको नेतृत्वमा रहेको मोर्चाले ख्वाक दर्रेमा हजारौँ तालिबानहरूलाई घेरामा हालेको दाबी गरिएको छ ।

एनआरएफका प्रवक्ता फहिम दश्तीले तालिबानसँग युद्ध जारी रहेको बताएका छन् । उनले भने, ’मलाई लाग्छ कि अफगानिस्तानमा जुन परिस्थिति बनेको छ त्यसले गृहयुद्धको सम्भावना बढाएको छ ।’ यसैबीच अमेरिकी जनरल मार्क मिलेले अफगानिस्तानको पछिल्लो परिस्थितिले मुलुकमा गृहयुद्ध हुनसक्ने चेतावनी दिएका छन् ।