बाँके – नेपालगञ्जको राझाँ एअरपोर्टबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका राझाँ एअरपोर्टबाट उक्त परिमाणमा सुनसहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ वर्षीय बुद्दीमान खाती रहेका छन् ।

श्री एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट नेपालगञ्ज आएका उनीहरुलाई नेपालगञ्ज विमानस्थलको आगमन कक्ष वाहिर शङ्कास्पद रुपमा फेला पारी प्रहरीले तलासी गर्दा विश्वकर्माले लगाएको जुत्तामा रहेको सुन जस्तो देखिने ४ थान विस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा रहेको सुन जस्तो देखिने २ थान विस्कुटसहित ६ थान विस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) सुन बरामद गरेको हो ।

त्यस्तै खातीले बोकेको झोलाबाट सुनको जस्तो देखिने तिलहरी १ थान, वाला १ थान, गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।