काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आइतबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहेको छ ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।