फाइल तस्वीर
काठमाडौं – नेपाल भोलि आइतबार अपरान्ह भारतसँग अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ । बिहीबार राजधानीको दशरथ रङ्गशालामा भएको खेलमा नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । खेल सुरुभएको ३५ औं मिनेटमा अन्जन विष्टले भारतीय गोलकिपरलाई विट गर्दै बललाई सहज रुपमा पोष्टमा छिराएपछि नेपालले भारतलाई १ गोलले पछि पारेको थियो ।


खेलको दोस्रो हाफ पछि सुधारिएको खेल खेल्दै भारतले नेपाललाई पूर्णरुपमा दवावमा राख्दै गोलको अवसर जुटाएको थियो । जस अनुरुप खेलको ६५ औं मिनेटमा भारतले नेपाली डिफेन्टरको कमजोरीको फाइदा उठाउँदै गोल गर्न सफल भयो र खेल १–१ गोलमा रोकिएको थियो । घरेलु दर्शकको साथ र समर्थन, आफ्नै मैदानको फाइदा नेपालले उठाउन सकेन ।


नेपाल र भारतबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमध्ये भोलि खेलिने पाँचौं संस्करण हो । यस अघि नेपालले भारतसँग उसैको घरेलु मैदानमा ३ पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो भने यस पटक दुई वटा खेल घरेलु मैदानमा खेलेको छ ।


यसअघिका नेपाल र भारतबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमध्ये सन् २०१३ मा भारतको सिलगुढीमा भएको खेलमा नेपाल २–० गोलले पराजित भएको थियो भने सन् २०१५ मा भारतको पुनामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल ०–० को बराबरीमा सकिएको थियो । त्यसैगरी सन् २०१७ मा मुम्बईमा भएको तेस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २–० गोलले हारेको थियो ।


यसपटक नेपालले घरेलु मैदानमा बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितको नजिक पुगेता पनि डिफेण्डरको गल्तिका कारण ६४ मिनेटसम्मको जितलाई जोगाउन नसक्दा ६५ औं मिनेटमा गोल खाएर बराबरीमा रोकिन पुग्यो । भोलि आइतबार हुने खेलमा नेपालले जित निकाल्न सक्ने अपेक्षा गरिएको छ ।


शारीरिक रुपमा बलिया र अग्लो कदका भारतीय खेलाडीहरु नेपाली खेलाडीभन्दा छिटा देखिएका छन् । नेपालले भोलि हुने खेलमा छोटो पास र पोष्ट आक्रमणलाई विशेष ख्याल गर्नुपर्ने पूर्ण राष्ट्रिय खेलाडी तथा फुटबल प्रशिक्षक राजु शाक्य बताउँछन् । नेपालले भोलिको खेलमा जित हात पार्न सके या भारतलाई बराबरीमात्रै रोक्न सकेपछि उपलब्धी मान्नु पर्ने अवस्था छ ।

माल्दिभ्समा हुने सार्क फुटबल प्रतियोगिताको संस्करणमा खेल्ने तयारीमा रहेका चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भारतको यो खेल अभ्यास खेलका रुपमा खेलिएको हो । फिफा बरियतामा भारत नेपालभन्दा धेरै माथि छ ।