फाइल तस्वीर
धनुषा – प्रदेश दुईमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीबीच सांसद आफ्नो पक्षमा ल्याउन कसरत सुरु भैरहेको छ । भदौ २२ गते मङ्गलबारसम्म सांसदहरुलाई दल रोज्ने समय सीमा तोकिएको हुँदा सांसदलाई आफ्नो कित्तामा उभ्याएर सनाखत गर्ने कसरत भैरहेका छन् ।
यसैअनुरुप आज जनता समाजवादी पार्टी (जसपा) ले सांसदहरुलाई आफ्नो पक्षमा राख्न दुई नम्बर प्रदेशको संसदीय दलको बैठक सुरु भएको छ । जनकपुर बजारको शिव चोकस्थित होटेल वेलकममा प्रदेश सांसदहरुको बैठक सुरु भएको छ । भूमि, व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादवका अनुसार देशको समसामयिक राजनीतिक विषय र भावी रणनीतिका बारेमा छलफल गर्न संसदीय दलको बैठक बसेकोे बताउनु भएको छ । मन्त्री यादवका अनुसार बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका शीर्ष नेताहरुसमेत सहभागी हुनुुहुन्छ । समसामयिक विषय र पार्टीलाई के कसरी थप मजबुत बनाउन सकिन्त भनेर छलफल गर्न बैठक बोलाइएको मन्त्री यादलको भनाइ छ ।

निर्वाचन आयोगबाट महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दलको मान्यता पाएपछि जसपा रोज्ने या लोसपा रोज्ने भनेर प्रदेश सांसदहरूले सनाखत गर्न थालेपछि आफ्ना पक्षमा रहेका सांसदहरू जोगाउन जसपाले बैठक डाकेको एक नेताले बताए । गत बिहीबार समाजवादी फोरमबाट प्रदेशसभामा निर्वाचित प्रल्हाद गिरीले लोसपाको पक्षमा सनाखत गरेपछि जसपाले सांसदहरुलाई आफ्नो पक्षमा राख्न आजको बैठक बोलाएको बताइएको हो ।

तत्कालीन जसपाबाट प्रदेशसभामा ५५ सांसद छन् । निर्वाचन आयोगले गरेको निर्णयअनुसार अहिलेसम्म जसपाका ५५ मध्ये १२ प्रदेश सांसदले लोसपाको पक्षमा सनाखत गराइसकेका छन् भने जितेन्द्र सोनल, अभिराम शर्मा र उपेन्द्र महतो लोसपामा खुले पनि सनाखत भने गराएका छैनन् । प्रदेश २ तत्कालीन राजपाबाट मन्त्री बनेका नवलकिशोर साह, रामनरेश राय, पूर्वराज्यमन्त्री सुरेश मण्डलसहित मनिष सुमन, रानीशर्मा तिवारीलगायत १० जना प्रदेश सांसद जसपामै खुलेका छन् । आफ्नो पक्षमा प्रदेश सांसद र स्थानीय तहका प्रतिनिधि तान्न जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुर पछिल्लो तीन दिनदेखि जनकपुरमा अड्डा जमाएर बसिरहेका छन् । यसैको सेरोपेरोमा जसपाको बैठक चलिरहेको छ ।