काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन सेवाग्राही वर्षदिन कुुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो ।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई क्युआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिनुभएको छ । उहाँले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयमार्फत वितरण गरिने पनि बताउनुभएको छ ।

अहिले स्मार्ट लाइसेन्स लिन करिब ७ लाख सेवाग्राही महिनौँदेखि लाइनमा छन्। विभागका प्रवक्ता डा भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरण सुरु हुने बताउनुभयो । उहाँले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकाले ६–७ महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताउनुभएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले अबको एक–डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिँदै कार्ड आएलगत्तै तीन सिफ्टमा काम गरेर भए पनि वितरण गरिने बताउनुभयो ।

विभागका प्रवक्ता डा. भुसालले कोरोना भाइरस महामारीका कारण स्थगन गरिएको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते अर्थात् आगामी आइतबारबाट सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयलाई पत्राचार गरिसकेको उल्लेख गर्नुभयो ।

उहाँले पहिलो चरणमा आवेदन दिएकाहरूको मात्र लिखित तथा प्रयोगात्मक परीक्षा र त्यसपछि मात्रै नयाँका लागि आवेदन खोल्ने पनि बताउनुभएको छ । नयाँका लागि आवेदन खोल्न भने अझै केही महिना लाग्ने उहाँको भनाइ छ । सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाका लागि ६ लाख जनाको आवेदन परेको कार्यालयले जनाएको छ । विभागले लाइसेन्सका लागि आवेदन अनलाइनबाटै लिने गरेको छ ।