काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिल्म हल व्यवसायीहरूलाई ५० प्रतिशतमात्रै दर्शक राखेर हल सञ्चालन गर्न निर्देशन दिएको छ । आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले हल व्यवसायीहरूलाई उक्त निर्देशन दिनुभएको हो । प्रजिअ पराजुलीले चलचित्र विकास बोर्ड तथा फिल्म व्यवसायीहरूसँगको बैठकमा निर्देशन दिएको सूचना अधिकारी तथा सहायक प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो –’लोकदोहोरी साँझ, क्लब लगायत रात्रिकालीन व्यवसायीहरू र फिल्म हल व्यवसायीहरूसँग बैठक भएको थियो । कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भयो ।’ दिउँसो मात्रै सञ्चालन हुने भएकाले फिल्म हल व्यवसायीहरूलाई समय सीमा तोकिएको छैन । साथै, उहाँले स्वास्थ्यको मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउनुभयो ।

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा हटाएको थियो । विद्यालयबाहेक अरू सबैलाई खुल्न अनुमति दिए पनि फिल्म हल तथा रात्रिकालीन व्यवसायीहरू विगत लामो समयदेखि खुल्न सकेका थिएनन् । तर अब भने रात्रिकालीन व्यवसायीहरूलाई पनि समय सीमा तोकेको सूचना अधिकारी नेपालले बताउनुभयो ।

लोकदोहोरी साँझहरू राति १२ बजेभित्रमा बन्द गरिसक्नुपर्ने छन् । त्यस्तै क्लबहरू राति २ बजेसम्ममा बन्द गर्नुपर्ने निर्देशन काठमाडौं प्रशासनले दिएको छ । यी सबै काममा स्वास्थ्य मापदण्डको पालना भए/नभएकोबारे अनुगमन समेत गरिने सूचना अधिकारी नेपालले बताउनुभयो । ’सबै स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्ने भनिएको छ । नगरे कारबाही गर्ने भन्नेछ,’उहाँले भन्नुभयो,’अनुगमन समिति समेत बनाइएको छ ।’ सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, पर्यटन बोर्ड, चलचित्र विकास बोर्ड, लोकदोहोरी लगायतका प्रतिनिधिहरू राखेर अनुगमन समिति बनाइएको छ ।