काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गृह विद्यालय (होम स्कूलिङ) को अवधारणा कार्यन्वयनका लागि गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री २०७८ तयार गरेको छ । विषम परिस्थिति तथा प्रत्यक्ष रुपमा विद्यालयमा उपस्थित भई शिक्षण सिकाइ गर्न नसकिने परिवेशमा घरमा नै बसेर सिकाइलाई निरन्तरता दिई तोकिएको सिकाइ उपलब्धि तोकिएकै समयमा प्राप्त गर्न सघाउ पु¥याउने उद्देश्यले सामग्री तयार पारेको केन्द्रले जनाएको छ ।
बालबालिकाको सिकाइ सहजीकरणमा अभिभावकलाई सहभागी गराई सिकाइमा सुधार गर्न नयाँ विधि र प्रक्रियालाई प्रयोग गर्दै बालबालिकाको पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भन्ने अवधारणालाई स्थापित गर्न, सिकाइलाई दैनिक जीवन, व्यवहार र श्रमसँग जोड्नु, सीप विकास गर्न गृह विद्यालय व्यवस्थापन सहजीकरण सामाग्री, २०७८ तयार गरिएको केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले जनाएका छन् ।
किन आवश्यक छ गृह विद्यालय ?
गृह विद्यालय सहजीकरण सामग्री विद्यार्थी सिकाइ सहजीकरणको लागि तयार गरिएको हो । बालबालिकाको सिकाइमा अभिभावक, विद्यालयका शिक्षक तथा सरोकारवाला सबैको सहभागिता रहोस् र सिकाइ विद्यालय बाहिर पनि निरन्तर रुपमा सञ्चालन भई शैक्षिक सत्र क्षति हुन नदिन यसको आवश्यक भएको केन्द्रको भनाइ छ ।
देशभर देखिएको कोरोना महामारीको प्रभाव वा यस्तै खालका अन्य महामारी वा प्राकृतिक प्रकोप आदिको समयमा वा सहज परिस्थितिमा समेत घरलाई नै बालबालिकाको पहिलो अनि उपयुक्त सिक्ने थलो–पाठशालाका रुपमा उपयोग गर्न सहयोग पुगोस भन्ने मान्यताले गृह विद्यालयको अवधारणा विकास भएको केन्द्रले जनाएको छ ।
कोभिडका कारण विद्यालय उमेर समूहका करीब ७० लाख बालबालिकाको सिकाइ निरन्तरताका लागि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ र विद्यालय शिक्षाको आकस्मिक कार्य योजना २०७७ स्वीकृत भई कार्यन्वयनमा रहेको केन्द्रको भनाइ छ । सो कार्य योजनाका बुँदा नम्बर ११ मा प्रत्येक घर परिवारलाई आफ्ना बालबालिकाको सिकाइमा सघन रुपमा सहभागी बनाउने गरी गृह विद्यालयको अवधारणा कार्यन्वयन गर्ने भन्ने बुँदाको आधारमा केन्द्रले सामाग्री तयार पारेको हो ।
कसरी गृह शिक्षक तोकिन्छ ?
गृह विद्यालयको अवधारणा कार्यन्वयनका लागि बालबालिका अध्ययन गर्ने विद्यालयका प्रधानाध्यापक–शिक्षकको सहयोगमा गृह शिक्षक तोक्नुपर्नेछ । गृह शिक्षक तोक्दा सकेसम्म उक्त घरमा माथिल्लो तहमा अध्ययन गरेको व्यक्तिहरु आमा वा बावु र सो नभए दाजु, दिदी, काका–काकी, बाजे÷बज्यै वा परिवारका अन्य सदस्य तोक्नुपर्ने उल्लेख छ ।
गृह शिक्षकको भूमिका
बालबालिकाको अधिंकाश समय घरमा नै वित्ने भएकाले घरमा हुने सिकाइले उसको जीवनमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले तोकिएको गृह शिक्षकले स्याहार, सुसार, खानपिन, स्वास्थ्य तथा सरसफाईमा संरक्षण गर्नुको साथै खेतबारीको काम, गाईवस्तुको स्याहार, घर सरसफाई या भान्छाको काम लगायतमा सहजीकरण गर्नुपर्नेछ ।
मातृभाषा, स्थानीय ज्ञान, सिप र प्रविधिमा आधारित विषयसँग सम्बन्धित क्रियाकलाप गराउने, शब्द, वाक्य, अनुच्छेद, निबन्ध, कथा लगायत सिर्जनात्मक तथा सीप विकास सम्बन्धी क्रियाकलाप गर्दा अन्य विषय क्षेत्रका क्रियाकलापहरुसँग पनि सम्बन्धित गराएर गर्ने । सम्भव भएका ठाउँमा, विद्यालयबाट दैनिक रुपमा टेलिफोन मार्फत घरमा नै गराउन सकिने पाठ्यक्रममा आधारित क्रियाकलापहरु प्रदान गरी गृह शिक्षक (अभिभावक) ले बालबालिकालाई गराउने ।
गृह विद्यालयमा के सिक्छन् ?
गृह विद्यालयमा विद्यालय शिक्षाका तल्ला कक्षाहरुमा अध्ययनरत बालबालिकाहरुलाई दैनिक बिहान उठने, हातमुख धुने, खाजा खाने, समाचार सुन्ने, लेख्ने, खाना खाने, करेसावारीको काम गर्ने, चित्र बनाउने, खेल्ने, गीत गाउने लगायतको कार्यतालिका बनाउन लगाई कार्यन्वयन गर्न गृह शिक्षकले सहजीकरण र्गछन् । माथिल्लो कक्षाहरुमा अध्ययनरत बालबालिकाहरुका लागि पनि यसरी नै आवश्यकता अनुसार कार्ययोजना बनाई कार्यन्वयन गर्न सहजीकरण गर्न सक्छन् । सञ्चार र प्रविधिको आधारमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले विद्यार्थीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको छ ।
विद्यालय कक्षा शिक्षकको भूमिका
विद्यालयले आफुलाई जिम्म लगाएको टोलमा कम्तीमा हप्तामा एक पटक घर भेट गर्ने गरी योजना निर्माण गर्ने, अघिपछिको समयमा क्लोजर युजर ग्रुप (विद्यार्थीका लागि विशेष सुविधा भएको सीम) का माध्यामबाट विद्यार्थी तथा निजका अभिभावकसँग शिक्षण सिकाइका लागि निरन्तर सम्पर्कमा रहने तथा टेलिफोन मार्फत दैनिकरुपमा पाठ्यक्रमहरुमा आधारित क्रियाकलापहरु प्रदान गर्ने ।
घर भेटको क्रममा गृह शिक्षकलाई अप्ठ्यारो परेको विषयमा सहजीकरण गर्न गर्ने । पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित रहेर बालबालिकालाई सहजीकरण गर्ने र आउँदो हप्ताका लागि गृहकार्य दिने, विद्यार्थीले हप्ताभर घरमा आधारित सिकाइ सामग्रीमा गरेका कार्यको परीक्षण गरी पृष्ठपोषण प्रदान गर्ने लगायतका काम गर्नुपर्ने छ ।
विद्यालय व्यवस्थापन समितिको भूमिका
निर्देशिकाले विद्यालय विद्यालय व्यवस्थापन समितिको भूमिका समेत निर्धारण गरेको छ । विद्यालयको सेवाक्षेत्रमा गृह शिक्षक अवधारणालाई कार्यन्वयनमा ल्याउन अभिभावक र शिक्षकहरुसँग समन्वय र सहकार्य गर्ने, बालबालिकाको पठनपाठन निरन्तरताका लागि विद्यालय शिक्षक र गृह शिक्षकहरुबीच पुलको काम गर्नुपर्ने जनाएको छ । साथै आवश्यक पर्ने शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थासँग समन्वय गर्ने, मानसिक रुपमा आफ्नो विद्यालय सेवा क्षेत्रभिका गृह शिक्षकहरको कार्यको अनुगमन गर्ने र बालबालिकाहरुको पठनपाठन निरन्तर भएको सुनिश्चित गर्न निर्देश गरेको छ ।
विद्यार्थीको सिकाइ मूल्याङ्कन विद्यालयले गर्नुपर्ने
यसरी गृह सिकाइबाट सिकेका विद्यार्थीको मूल्यांकन विद्यालयले गर्नुपर्नेछ । निर्देशिकाले बालबालिकाले घरमा सिकेका विषयवस्तु समेत समेटेर विद्यालयले विद्यार्थीको निरन्तर मूल्यांकनको व्यवस्था गर्ने । प्रधानाध्यापकले विद्यार्थीहरुको त्रैमासिक, वार्षिक मूल्यांक गर्न शिक्षकहरुलाई टोलहरु जिम्मा दिने, विद्यार्थी मूल्यांकनको अभिलेख व्यवस्थित गर्न लगाउने भनेको छ ।
यसरी निर्देशिकाले गृह शिक्षकले गर्न सक्ने क्रियाकलापहरु, सिकाइ सहजीकरणका लागि अभिभावक, विद्यालय कक्षा शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई र गैरसरकारी संस्थाहरुको भूमिका समेत तोकेको छ । निर्देशिकामा होम स्कूलिङको परिचय, आवश्यकता, उद्देश्य, होम स्कूलिङ सञ्चालकको प्रक्रिया समेटिएको छ ।