काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभरका अधिकांश स्थानमा सामान्य देखि पूर्ण बदली रही प्रदेश एक, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा केही तल रहेको छ । जसका कारण मनसुनी प्रणाली रहेता पनि मनसुन थप सक्रिय भएको छैन । विभागले आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।