काठमाडौं – नेपाली काङ्ग्रेसभित्रको संस्थापन इतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४ औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक ढिक्का हुने घोषणा गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले १४औं महाधिवेशनमा आफ्नो समूह एक भएर सहमतिमा हालका सभापति देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हो । कांग्रेस महाधिवेशनका लागि विधानले तोकेको सबैभन्दा तल्लो तहको अधिवेशन आज शुक्रबारबाट सुरु हुँदै छ ।

महाधिवेशनको प्रक्रिया सुरु हुने अघिल्लो दिन नै पौडेल समूहले देशभर नेता कार्यकर्ताबीच समूहमा एकता रहेको सन्देश दिन यस्तो घोषणा गरेको हो । समूहको नेतृत्व गर्दै आएका काङ्ग्रेस वरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट महाधिवेशनमा सहमतिबाट सभापतिको एकल उम्मेदवार तय हुने बताए । ‘महाधिवेशनमा हामी सभापतिमा एउटै उम्मेदवार दिन्छौं, देशभरिका साथीहरूलाई म ढुक्क रहन आग्रह गर्छु, व्यक्तिका विषयमा छलफल गरेर निर्णय लिन्छौं,’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले भने । ‘कसको नाममा सहमति हुन्छ त ?’ भन्ने पत्रकारहरूको जिज्ञासामा भने पौडेलले व्यक्तिका विषयमा पछि टुङ्गो लगाइने बताए ।

पत्रकार सम्मेलनमा आगामी महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेताहरू महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा। शेखर कोइराला, अर्जुननरसिंह केसी, नेत्री सुजाता कोइराला र गगन थापा सहभागी थिए । सभापतिको प्रतिस्पर्धामा आफू पनि उठ्ने बताउँदै आइरहेका नेता केसीले आफ्नो समूहको अठोट र संकल्पसहित कार्यक्रमको उपस्थितिले पनि सहमतिमा नै उम्मेदवार तय हुने अनुमान गर्न सकिने बताए ।

गगन थापा पौडेल पक्षमा ?
नेता गगन थापाले भने केही दिनअघि मात्रै आफू महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् । उनी यसअघि भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट १३औं महाधिवेशनमा उम्मेदवार बनेका थिए । त्यसबखत भने उनी डा। शशांक कोइरालासँग पराजित भएका थिए । यसपटक भने उनले कुन समूहबाट आफू उम्मेदवार बन्ने मुख खोलेका छैनन् । तर, पौडेल समूहको पत्रकार सम्मेलनमा सहभागी भएका कारण उनी सोही समूहमा खुल्ने आँकलन गरिएको छ । वडा अधिवेशन सुरु हुनु अघिल्लो दिन कांग्रेसभित्रको पौडेल समूहले देशभरका नेता कार्यकर्ताहरूलाई उत्साह जगाउन पत्रकार सम्मेलनमार्फत समूहभित्र एकता रहेको सन्देश दिएको हो । यो समाचार आजको राजधानी दैनिक मा प्रकाशित छ ।