काठमाडौं – अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बीमा क्षेत्रको दायरा केही बढेको छ । हिजो बिहीबार बीमा समितिले जारी गरेको आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात्, श्रावणसम्मको रिर्पोटअनुसार बीमा क्षेत्रको पहुँच अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव २७ प्रतिशतले वृद्धि हुँदै ३ करोड ४ लाख ४४ हजार ३ सय ३९ जनामा पुगेको छ ।

यो तथ्याङ्क जीवन बीमा, निर्जीवन बीमा र बैदेशिक रोजगार बीमा लेखबाट समेत सङ्कलित कुल योग हो । समितिका अनुसार समीक्षा अवधिमा जीवन बीमा क्षेत्रबाट अघिल्लो वर्ष भन्दा १३ दशमलव ४३ प्रतिशतले दायरा विस्तार हुँदै ८० लाख ९ हजार ६ सय ३४ जनामा बीमाको पहुँच पुगेको छ भने निर्जीवन बीमातर्फ ० दशमलव १७ प्रतिशतले वृद्धि हुँदै २ लाख ४१ हजार ८ सय ३७ जनामा बीमाको पहुँच पुगेको छ ।

यद्यपि, बैदेशिक रोजगार बीमा लेखतर्फ भने समीक्षा अवधिमा अधिकतम ३२ दशमलव ९० प्रतिशतले नै गिरावट आएको बीमा समितिले बताएको छ । अघिल्लो वर्ष कुल ८ लाख ६० हजार ५ सय १९ जनाले बैदेशिक रोजगार बीमा लेख गराएकामा समीक्षा अवधिमा जम्मा ५ लाख ७७ हजार ४ सय १० जनाले मात्र गरेको समितिले जनाएको छ ।

बीमा प्रिमियम सङ्कलन २४ दशमलव ५२ प्रतिशत वृद्धि

समितिद्वारा जारी रिर्पोटमा चालु आर्थिक वर्षको श्रावणसम्ममा अघिल्लो आर्थिक वर्ष भन्दा २४ दशमलव ५२ प्रतिशतले बीमा प्रिमियम सङ्कलनमा वृद्धि हुँदै बीमा क्षेत्रले कुल १९ अर्ब ६० करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । यस्तो प्रिमियम सङ्कलन अघिल्लो वर्ष १५ अर्ब ७४ करोडमा भएको थियो ।

समितिका अनुसार समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा २७ दशमलव ३८ प्रतिशतले प्रिमियम वृद्धि गर्दै जीवन बीमा कम्पनीहरुले अधिकतम १६ अर्ब ६१ करोड सङ्कलन गर्न सफल भएका छन् भने, निर्जीवन बीमा कम्पनीहरुले १० प्रतिशतले वृद्धि गर्दै २ अर्ब ९९ करोड सङ्कलन गरेका छन् । जवकि अघिल्लो वर्ष निर्जीवन बीमा कम्पनीहरुले कुल २ अर्ब ७० करोड प्रिमियम सङ्कलन गर्न सफल भएका थिए ।

बीमा कम्पनीहरुको चुक्तापुँजी ५७ अर्ब ६७ करोड पुग्यो

हाल १९ वटा जीवन बीमा कम्पनीसहित १७ वटा निर्जीवन कम्पनी र एउटा पुनर्बीमा कम्पनी गरी कुल ३७ वटा बीमा कम्पनीहरुको कुल चुक्तापुँजी ५७ अर्ब ७६ करोड माथि पुगेको छ । बीमा समितिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को श्रावण महिनासम्म कुल ५० अर्ब २१ करोड चुक्तापुँजी रहेकोमा समीक्षा अवधिमा १५ प्रतिशतले पुँजी वृद्धि हुँदै ५७ अर्ब ७६ करोड पुगेको हो ।

जसमध्ये, जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी अधिकतम ३८ अर्ब २१ करोड र निर्जीवन बीमा कम्पनीहरुको एकमुष्ट चुक्तापुँजी १९ अर्ब ४६ करोड रहेको छ । यसमा पुनर्बीमा कम्पनीको तथ्याङ्क समावेश गरिएको छैन । जबकि अघिल्लो आर्थिक वर्ष जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी क्रमशः ३२ अर्ब ८१ करोड र १७ अर्ब ४० करोड थियो ।

त्यसोत पछिल्लो समय बीमा क्षेत्रको दायरा विस्तारसँगै बीमा कम्पनीहरुको कार्यालय संख्या र कर्मचारी संख्यामा समेत वृद्धि भएको छ । समितिका अनुसार समीक्षा अवधिमा बीमा कम्पनीहरुको कार्यालय संख्या १० दशमलव ४३ प्रतिशतले वृद्धि भएर ३ हजार ६१ पुगेको छ भने कर्मचारी संख्यासमेत अधिकतम ७ प्रतिशतले वृद्धि भएर १० हजार ८६५ जना पुगेको छ । यस्तो संख्या अघिल्लो वर्ष क्रमशः २ हजार ७ सय ७२ र १० हजार १ सय २९ जना थियो ।