काठमाडौं – नेकपा एमालेले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोजेको बताएको छ । आज बिहीबार पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै सरकारले यस घटनालाई थामथुम पार्न खोजेको बताउनुभएको हो । गत साउन १५ गते महाकाली नदी पार गर्नेक्रममा भारतीय एसएसबीले तुइन चुडाउँदा धामी बेपत्ता भएको आरोप छ ।

सोही घटना एक महिनाभन्दा बढी समय बितेपछि बुझाएको प्रतिवेदन अस्पष्ट रहेको नेकपा एमालेको ठहर छ । ’गतः २०७८ साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुडाइदिएर जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको एक महिनाभन्दा बढी समय बितेको छ,’विज्ञप्तिमा भनिएको छ,’यस विषयमा छानबिन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको छ ।’

सरकारले भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल समेत गर्न नसकेको उक्त विज्ञप्तिमा उल्लेख छ । औपचारिकता पूरा नगरी जनताको ध्यान घटनाबाट अन्यत्रै मोड्न खोजेको आशङ्का समेत पैदा भएको पार्टीले जनाएको छ । पार्टीले संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै घटनाको सत्यतथ्य कुरा सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ ।