काठमाडौं – कोरोना सङ्क्रमणको कारण देखाउँदै स्थगित भएको सामलिङ पावर कम्पनीको आईपीओ भोलिदेखि निष्कासन हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकले १८ भदौदेखि पुनः निष्कासन सुरु गरिने जनाएको हो ।

कम्पनीले गत २२ साउनदेखि इलामवासीका लागि १०० रुपैयाँ अङ्कित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भनेको थियो । तर, कोरोनाको सङ्क्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञा जारी गरेपछि गत २० साउनमा सूचना प्रकाशित गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आईपीओ निष्कासन स्थगित गरेको थियो ।

कम्पनीले निष्कासन गर्ने ५ लाख कित्ता आईपीओमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ६० प्रतिशत अर्थात् ३ लाख कित्ता र आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिका ८ र १० तथा माई जोगमाई गाउँपालिका ४ र ५ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात् २ लाख कित्ता निष्कासन गरेको हो ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोबार्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिन्छ । यसैगरी, इलाममा रहेका नेपाल एसबीआई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंक तथा माई जोगमाईमा रहेको सिभिल बैंकबाट पनि आवेदन दिन सकिनेछ । यो आईपीओको निष्कासन बन्द छिटोमा १ असोजदेखि ढिलोमा १७ असोजमा हुनेछ ।