धनुषा – प्रदेश न.दुईमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने भनेका दुई जना सांसद एमालेको बैठकमा सहभागी भएका छन् । प्रदेश दुईमा एमालेबाट निर्वाचित १० सांसदले समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । तर, एकीकृत समाजवादीमा सनाखत गर्ने सूचीमा रहेका दुई जना प्रदेशसभा सदस्य वीरगञ्जमा भइरहेको एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएपछि उनीहरु एमालेमै रहेको पुष्टि भएको हो ।

प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादी सनाखत गर्ने सुचीमा रहेका थिए । तर विश्वकर्मा र गुरुङ वीरगञ्जमा एमालेको प्रदेशस्तरीय बैठकमा सहभागी भएको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो । एमाले विभाजन हुने बेलामा विश्वकर्मा र गुरुङ माधवकुमार नेपाल पक्षमा लागेका थिए ।

क्यान्सर पीडित प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती अहिले उपचारका लागि भारतमा रहेको र दिल्लीस्थित नेपाली दूतावास मार्फत निर्वाचन आयोगमा उहाँको सनाखत सम्बन्धी पत्र आउने गरी सुविधा माग गर्दै आयोगमा निवेदन दिइएको नेता शत्रुधन महतोले जानकारी दिनुभयो । नेता महतोले विश्वकर्मा र गुरुङले पनि समाजवादीको पक्षमा सनाखत गर्ने दावी गर्नुभएको छ ।