काठमाडौं – काठमाडौं महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/नखोल्नेबारे छलफल भइरहेको जानकारी दिएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौं जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भएता पनि औपचारिक निर्णय नभएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौं उपत्यकाका अन्य स्थनीय तहजस्तो महानगर होइन, यहाँ विद्यार्थीको अत्यधिक सङ्ख्या छ उनीहरुलाई सुरक्षित राख्दै पठनपाठनलाई सञ्चालन गर्नुपर्छ, त्यसका लागि छलफल भइरहेको छ ।” “विद्यालय उमेर समूहका १८ वर्षमुनिका बालबालिका कारोना भाइरस सङ्क्रमणबाट बढी जोखिममा रहेकाले दुई दिन खोलेर बन्द गर्दा थप समस्या उत्पन्न हुन्छ, त्यसका लागि सञ्चालन गर्नुपूर्व छलफल गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

काठमाडौं महानगरपालिकामा रहेका ९१ सामुदायिक र ५ सय ४१ संस्थागत विद्यालय सञ्चालनमा छ । सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थीले पठनपाठन गर्दछन् । सामुदायिक विद्यालयमा एक हजार ७ सय ९१ शिक्षक कार्यरत छन् । जिल्ला प्रशासन कार्यालयले हिजो बुधबार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो ।