जनकपुरधाम – माधवकुमार नेतृत्वकोे बनेको नेकपा (एस) मा प्रदेश सभासदहरु समाहित हुनेक्रम जारी छ । सोही क्रममा आज नेकपा एमालेबाट प्रदेश २ मा सभासद रहेका मध्ये १० जना सभासदले नेकपा (एस) रोजेका छन् । उनीहरुले आज बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पुगेर एस दल रोज्दै सनाखत गरेका छन् ।

यसैगरी एमाले छोडेर नयाँ दल एकीकृत समाजवादी रोज्ने सांसदहरुमा गोविन्दबहादुर न्यौपाने, शत्रुधन महतो, बेची लुंगेली, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव छन् ।

सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण बिहीबार आउन नसकेको र अर्काे दिन आएर सनाखत गर्ने भएका छन् । सांसद् लुंगेलीले अर्का सांसद दिल्ली उप्रेती भने उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उप्रेतीले दूतावासमार्फत् आफ्नो सनाखत गराउने जानकारी गराएकी छन् । प्रदेश दुईमा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये शुरुदेखि नै १३ जना माधवकुमार नेपाल खेमामा रहँदै आएका थिए । दुई नम्बर प्रदेशमा एमाले कमजोर देखिएको छ ।