कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो– ‘न्यायपालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् ।’ जिल्ला अदालत कास्कीले हिजो बुधबार गरेको स्वागत कार्यक्रममा उहाँले अदालतको भौतिक संरचनाका साथै जनशक्ति चुस्तदुरुस्त भए न्यायिक प्रक्रिया छिटोछरितो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले शासन व्यवस्थाको प्रत्याभूति गराउने न्यायालयका सुदृढीकरणमा राज्यले चासो दिनुपर्नेमा जोड दिनुभएको छ ।

अदालतको भौतिक सुधार र जग्गा व्यवस्थापनका लागि सक्दो पहल गर्ने मुख्यमन्त्री नेपालीले जानकारी दिनुभयो । जिल्लाका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईले अदालतको वस्तुस्थितिका बारेमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराउँदै जिल्ला अदालतमा मुद्दाको चाप बढेको अवस्था रहेको बताउनुभयो । उहाँले नयाँ भवन बनाउन जग्गाको खोजी भइरहेको बताउनुभयो ।

जग्गा खरिदका लागि वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा समिति पनि गठन भइसकेको छ । अहिले सर्वोच्च अदालतले भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरेको र जग्गा प्राप्ति भएमा थप बजेट निकासा गराउन सकिने उहाँको भनाइ छ । सो अवसरमा प्रदेशमा प्रमुख सचिव डा.दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, जिल्ला न्यायाधीशहरु, श्रेस्तेदार, तहसिलदारसहित अदालतका कर्मचारी सहभागी रहेको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिनुभयो ।

‘ काङ्ग्रेस थप सशक्त’

गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका पोखराका अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईसहित युवालाई शुभकामना दिनुभएको छ । आज आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले बिपीको सिद्धान्तलाई आत्मसात गर्दै लोकतान्त्रिक समाजवादलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मुलुकलाई समृद्धिको बाटोमा डोर्याउने दायित्व काङ्ग्रेसको रहेको जनाउँदै उहाँले यसका लागि युवाहरु अग्रसर हुनुपर्ने बताउनुभएको छ । पार्टीको महाधिवेशन, स्थानीय तहको निर्वाचन र यसपछि हुने प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनलाई आफ्नो पक्षतिर आउनेगरी काम गर्न मुख्यमन्त्री नेपालीले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले पोखराका पूर्व मेयर भट्टराईको काङ्ग्रेस प्रवेशले पार्टी अझ बलियो हुने बताउनुभएको छ । कार्यक्रममा अग्रज पर्यटन व्यवसायी भट्टराईले सुशासनका लागि व्यवसायीलाई राजनीतिमा आकर्षित गर्नुपर्ने जनाउँदै राजनीतिक नेतृत्वबाट सुशासनको सुरुआत हुनुपर्नेमा जोड दिनुभयो । रासस