काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर, एमफिल तथा पिएचडी तहमा थेसिस चोरी गर्ने प्रचलन दिनानुदिन बढ्दै गएको छ । यसलाई रोक्न त्रिविले विभिन्न प्रयास गरेपनि रोक्न सकिरहेको थिएन । तर, अब भने त्रिविले थेसिसमा हुने चोरी पत्ता लगाउने सफ्टवेयर सञ्चालनमा ल्याएको छ । विभिन्न पसलहरूमा थेसिस खुलमखुला किन्न पाइने क्रम बढ्दै गएपछि यसले शैक्षिक गुणस्तर घट्ने भन्दै त्रिविले यस्तो सफ्टवेयर ल्याएको हो ।

विद्यार्थीहरूले किनेर थेसिस बुझाउने तथा इन्टरनेटबाट तानेर थेसिस बनाउने गतिविधिलाई नियन्त्रण गर्न त्रिविले ‘एन्टी प्लेजरिजम चेकिङ सफ्टवेयर’ सञ्चालनमा ल्याएको बताएको छ । यस सफ्टवेयरको मद्दतबाट विद्यार्थीले थेसिस चोरेको भए पत्ता लगाउन सकिने छ । पहिलो चरणमा यो सफ्टवेयर एमफिल र पिएचडी तहमा लागू गरिएको छ भने बिस्तारै मानविकी, चिकित्सा, व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा पनि लागू हुने त्रिविले जनाएको छ ।

यसरी सफ्टवेयर ल्याएपछि कति प्रतिशत प्लेजरिजम मान्य हुने भन्ने विषयमा नीति नै बनाउने त्रिविको योजना रहेको छ । विश्वका विभिन्न मुलुकमा १० देखि १५ प्रतिशत सम्म प्लेजरिजमलाई मान्यता दिने प्रचलन रहेको छ । यस्तो सफ्टवेयरबाट विद्ययार्थीहरुमा बौद्धिक सम्पत्ति चोरी हट्नुका साथै शैक्षिक गुणस्तर पनि बढ्ने विश्वास गरिएको छ ।