नेपाली टोलीका प्रशिक्षक अल्मुताइरी र कप्तान किरण लिम्बु । फाइल तस्वीर

काठमाडौं– नेपाली फुटबल प्रेमीहरुको आँखा काठमाडौंको दशरथ रङ्गशाला तिर तानिएको छ । कोरोना कहरबीच आज साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय टिमले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । सीमित घरेलु दर्शक र घरेलु मैदानको भरपुर सदुपयोग गर्नेमा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र टिमका कप्तान किरण लिम्बु ढुक्क देखिन्छन् ।


साफका उपाधि दाबेदार यी दुई छिमेकी देशबीचकोे मैत्रीपूर्ण खेल आज बिहीबार अपरान्ह साढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुनेछ । नेपाली टोलीले आइतबार पनि भारतसँग सोही रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । फुटबलमा नेपाल र भारत चिरपरिचित प्रतिद्वन्द्वी टिम हुन् । यद्यपि, भारत नेपालभन्दा समक्ष पनि छ । फिफा वरियातमा भारत नेपालभन्दा माथि नै छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपाली टोली आत्मविश्वाससहित तयारी अवस्थामा रहेको र नेपाली टिमले जित्नेमा ढुक्क देखिन्छन् । बुधबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले आफूहरु बराबरीका लागि नभई जितका लागि खेल्ने बताएका थिए । यस्तै कप्तान किरण चेमजोङले पनि आफूहरुको आत्मविश्वास बलियो रहेको बताएका छन् ।


आजहुने मैत्रीपूर्ण खेल नेपाली टोलीले घरेलु दर्शकसामु खेल्न पाउने छ । कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका वा संक्रमण नरहेको देखाउने पिसिआर रिपोर्टसहितका पाँच हजार एक सय दर्शकले रंगशालामा गएर खेल हेर्न पाउने छन् । नेपालले भारतमाथि जित दर्ता नगरेको झण्डै ८ वर्ष पुगेको छ । पछिल्लोपटक सन् २०१३ मा साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो ।


भारतीय टिमले नेपालमा आएको यो पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१३ मा सिलिगुढी, सन् २०१५ मा पुना र सन् २०१७ मा मुम्बईमा गएर भारतसँग तीन पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाल र भारतबीच आज खेलिन लागेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको चौंथो संस्करण हो । यो खेललाई दुवै टिमको तयारी र खेल्ने क्षमतालाई प्रस्तुत गर्ने खेलका रुपमा हेरिएको छ ।