घोराही – दाङमा खहरे खोलाले कार बगाउँदा चारजनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले कार बगाउँदा दिदीबहिनीसहित चारजनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

बुधबार राति १० बजेतिर नेपालगञ्जबाट किनमेल गरेर फर्किने क्रममा प्रदेश ०३– ०१ –०२४च ४४४० नम्बरको कारलाई खोलाले बगाएको थियो । मृत्यु हुनेमा घोराही १३ की ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३० वर्षीया राधा श्रेष्ठ कुवँर, घोराही–१३ की ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसी रहेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिनुभएको छ ।

मृतक राधा र सुशीला दिदीबहिनी हुन् । घटनामा कारका चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुन घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।