अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमाी इतिहास बनाएका इरानी फुटबलर अली दाइको कीर्तिमानलाई उछिन्दै पोर्चुगाली टिमका क्याप्टेन ३६ वर्षीय क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल (पुरुष तर्फ) मा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका छन् ।

इरानका अली दाइले बनाएको कीर्तिमान तोड्दै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा आफ्ना नाम दर्ज गराएका हुन् । तेज गति र पावरफुल बल हान्न खप्पिस रोनाल्डोले यसअघि कीर्तिमानसँग बराबरी गरेका थिए । रोनाल्डोले विश्वकप छनौट अन्तर्गत बुधबार राति भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई २–१ ले पराजित गर्ने क्रममा दुई गोल गर्दा उनले अली दाइको ऐतिहासिक कीर्तिमानलाई उछिनेका हुन् । घरेलु मैदानमा भएको खेलमा अन्तिम समयमा गरेको हेडमार्फत रोनाल्डोले दुई गोल गरेका हुन् ।

खेलको ४५ औँ मिनेटमा जोन इगनको हेड गोल गर्दै आयरल्याण्डलाई सुरुवाति अग्रता दिलाएका थिए । तर रोनाल्डोले उत्तराद्र्धको ८९ औँ र इन्जुरी समयको छैटौँ अर्थात ९६ औँ मिनेटमा हेड गोल गरेर आफ्नो टिमको जितलाई सुनिश्चित गरेका थिए । रोनाल्डोले पोर्चुगलका लागि यो खेलबाट १ सय १० र १ सय ११ औँ गोल गर्दा उनी विश्व फुटबलमा राष्ट्रिय टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि बन्न सफल भएका छन् ।

यस्तै उनी सक्रिय खेलाडी मध्ये सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । इरानका अली दाइले १ सय ९ गोल गरेर बनाएको कीर्तिमान बनाएका थिए । अली दाइले सन् १९९३ देखि २००६ सम्म इरानका लागि १ सय ९ गोल गरेका थिए । रोनाल्डोले अलीको कीर्तिमानमा युरोकप अन्तर्गत फ्रान्ससँगको गत महिना भएको खेलको क्रममा दुई गोल गरेर बराबरी गरेका थिए । पोर्चुगलबाट १ सय ८० खेलमा सहभागी फुटबलर स्टार ३६ वर्षीय रोनाल्डो अहिले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन् ।