काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । आज बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.भवनको शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताउनुभएको हो ।

उहाँले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने धारणा व्यक्त गर्नुभएको छ । अर्थमन्त्री शर्माले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा श्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताउनुभयो ।

अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकोले युवाहरु निराश भएको र अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन दिनुभएको छ ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर अघि बढ्ने क्रममा राजनीतिले लय छोड्न थालेको, प्रतिगमनको बाटो लिएपछि त्यसविरुद्ध अहिले जनता जुर्मुराएर राजनीतिलाई लयमा ल्याएको समेत उल्लेख गर्नुभयो ।