काठमाडौं – राष्ट्रिय स्तरका विकास बैंकहरुको निक्षेपमा गिरावट आएको छ । विकास बैंकहरुको निक्षेप पछिल्लो एक सातामा नै २ अर्ब २३ करोड ६० लाख रुपैयाँले बैंकहरुको निक्षेप घटेको छ । भदौं ५ गतेसम्म विकास बैंकहरुको निक्षेप ४ खर्ब ८९ अर्ब ३७ करोड ७२ लाख रुपैयाँ थियो । भदौ ११ गतेसम्म आइपुग्दा निक्षेप ० दशमलव ४६ प्रतिशत अर्थात २ अर्ब २३ करोड ६० लाख रुपैयाँले निक्षेप घटेर ४ खर्ब ८७ अर्ब १४ करोड ११ लाख रुपैयाँमा झरेको छ ।

राष्ट्रिय स्तरका विकास बैंकहरुको मात्रै १ अर्ब ७३ करोड लाख ३० हजार रुपैयाँले निक्षेपमा गिरावट आएको छ । हाल ८ वटा राष्ट्रिय स्तरका विकास बैंक सञ्चालनमा छन् । बाँकी ७ क्षेत्रीय स्तरका विकास बैंकहरुको पनि ५० करोड ३० लाख रुपैयाँले निक्षेप घटेको छ । हाल सञ्चालनमा १८ विकास बैंक रहे पनि यो १५ वटाको मात्रै तथ्यांंक हो । तथ्याङ्क प्राप्त नभएको सहारा विकास बैंक गरिमा विकास बैंकमा मर्ज हुँदैछ भने अन्य २ एक जिल्ले विकास बैंक कर्पोरेट र साल्पा डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा आवद्ध छैनन् ।

विकास बैंकहरुको निक्षेप घटे पनि कर्जा भने घटेको छैन । पछिल्लो एक साताको अवधीमा ० दशमलव ५७ प्रतिशतले विकास बैंकहरुको कर्जामा सुधार देखिएको छ । भदौं ५ गतेसम्म विकास बैंकहरुको कर्जा ४ खर्ब २६ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ रहेको थियो । ११ भदौंसम्म २ अर्ब ४४ करोड ८६ लाख रुपैयाँले कर्जा बढेर ४ खर्ब २९ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।