भारतको उत्तर प्रदेश सरकारले आज बुधबारदेखि प्रदेशका सबै प्राथमिक विद्यालयहरू खुलाउने निर्णय गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार उत्तर प्रदेश सरकारले आजदेखि कोरोना सङ्क्रमणको जोखिमबाट बच्न आवश्यक उपायहरू अपनाउँदै कक्षा १ देखि ५ सम्मका सबै विद्यालयहरू खुला गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री योगी आदित्यनाथले कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यालयहरूले सरसफाई र सेनिटाइजेसनको काम हरेक दिन गर्नुपर्ने बताउनुभएको छ । प्रदेशमा कक्षा ६ देखि १२ सम्मका विद्यालय यसअघि नै सञ्चालनमा आइसेकेका थिए ।

उत्तर प्रदेशमा २४ घण्टामा जम्मा १९ जना नयाँ सङ्क्रमित थपिएको जानकारी हिजो मङ्गलबार दिइएको थियो । अहिले प्रदेशभरी २ सय ५६ जना सङ्क्रमित रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ । उत्तर प्रदेशमा अहिलेसम्म ७ करोडभन्दा धेरै मानिसहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।