काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको आमूल परिवर्तनका लागि प्रत्येक नागरिकसम्म शिक्षाको पहुँच पुग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा हिजो मङ्गलबार भक्तपुर नगरपालिकाले आयोजना गरेको विचारगोष्ठी समारोहमा बोल्दै उहाँले सबै नागरिक शिक्षित भए देश परिवर्तन हुने तर्क राख्नुभएको हो ।

उहाँले पुस्तकालयमा बस्ने जनशक्तिलाई वैज्ञानिक पुस्तकालय व्यवस्थापनबारे तालिम सञ्चालन गर्नुपर्ने, प्राचिन महत्व बोकेका पुस्तकको सङ्ग्रह पुस्तकालयले सुरक्षित ढङ्गले राख्नुपर्ने र नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि पुस्तकालय गएर अध्ययन गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । पुस्तकालयलाई ज्ञानको भण्डारका रूपमा व्यवस्थित गर्नु जरुरी रहेको बताउँदै अध्यक्ष बिजुक्छेले भक्तपुरमा रहेको सार्वजनिक पुस्तकालयको व्यापक सदुपयोग गर्नुपर्ने औँल्याउनुभएको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान र प्रविधिको विकाससँगै आधुनिक र प्रविधियुक्त पुस्तकालयको महत्व झन् बढ्दै गएको चर्चा गर्दै भक्तपुर नगरपालिकाबाट सञ्चालित जनज्योति पुस्तकालयलाई थप व्यवस्थित र समायानुकूल सुधार गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुस्तक पढ्ने बानी र पुस्तलकालयसँग अभ्यस्त रहने बानीले सुसंस्कृत, सुसूचित र सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभएको छ । इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले नेपालमा संस्थागतरूपमा पुस्तकालय स्थापना भएको २०० वर्षभन्दा लामो इतिहास पूरा भएको बताउँदै भक्तपुरको साकोथामा रहेको साफू कुथि छेँ नेपालकै पहिलो पुस्तकालय भएको र यसबाट भक्तपुर शिक्षाको केन्द्रका रूपमा रहेको चर्चा समेत गर्नुभयो ।