काबुल – अफगानिस्ताको दुई दशक लामो द्वन्द्वमा रुमलिएको विश्व शक्तिराष्ट्र अमेरिका खरबौं डलर खर्चेर पनि आफ्नो उद्देश्य प्राप्ति गर्न नसकि अफगानिस्ताबाट हटेको छ । विश्व भू–राजनीतिमा आफुलाई शक्तिशाली बैभव देखाउँर्दै आएको अमेरिकाले बाह्यदेशमा गरेको हस्तक्षेपबाट पराजय भोगेको इतिहास यसपटक अफगानिस्तानमा पनि पुनरावृत्ति भएको छ । अहिले भियतनाम युद्धसँग तुलना गरेर हेरिंदै छ अफगानिस्तानबाट अमेरिकी सेना हटेको घटनालाई ।

यसै घटनालाई लिएर अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको फेरि बचाउ गर्नुभएको छ । अफगानिस्तानमा २० वर्ष लामो युद्धको अन्त्य गर्दै अमेरिकी सैनिक अगस्ट ३१ को समय सीमा अघि नै सोमबार पूर्णरुपमा स्वदेश फर्किसकेको छ । अमेरिकी सैनिक परिचालन को २० वर्षपछि सोमबार पेन्टागनले अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने काम पूरा भएको घोषणा गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले पत्रकारहरुसँगको साक्षात्कारमा अफगानिस्तानबाट २० वर्षे अमेरिकी सैनिक उपस्थिति समाप्त भएको बताउनु भएको छ । राष्ट्रपति वाइडेनले ‘विगत १७ दिनदेखि हाम्रो फौजले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो हवाई उद्धार कार्य सम्पन्न गरेको छ । यो अवधिमा कूल एक लाख २० हजारभन्दा बढी अमेरिकी, हाम्रा सहयोगी राष्ट्रका नागरिक तथा अफगानिस्तान मिसनमा सघाउँदै आएका सहयोगीहरूलाई उद्धार गरेको देखिएको छ । अमेरिकी सैनिकले बेजोड साहस, व्यावसायिकता र कटिबद्धताका साथ यो कार्य सम्पन्न गरेका छन्’ भन्दै ‘यससँगै अब अफगानिस्तानमा हाम्रो २० वर्षे सैन्य उपस्थिति समाप्त भएको छ’ भनि प्रतिक्रिया दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानमा लामो समय बस्ने कुनै विकल्प नरहेको बताउनु भएको छ । अफगानिस्तानमा अमेरिकी सैनिकको २० वर्षे उपस्थिति अन्त्य भएको भोलिपल्ट मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति वाइडेनले आफ्नो निर्णयको बचाउ गर्नु भएको हो । तालिवानले अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिएपछि राष्ट्रपति वाइडेनले आफ्ना सैनिकले एक लाख २० हजार भन्दा बढीको उद्धारका लागि विमानको व्यवस्थापन गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।

राष्ट्रपति वाइडेनले उद्धार प्रक्रियाका लागि काबुल विमानस्थलको सुरक्षा व्यवस्था मिलाउन करिब ६ हजार सैनिक पठाउनु भएको थियो । अमेरिकी सैनिकको नियन्त्रणमा रहेको विमानस्थलबाट अमेरिकी तथा सहयोगी देशका नागरिक, कूटनीतिज्ञसहित सहयोगी एवम् देश छोड्न चाहने अफगानको पनि उद्धार गरेको थियो । अफगानिस्तानमा तालिवानी शासनको त्रासका कारण अझै पनि देश छोड्न चाहने धेरै अफगानीहरु छन् ।

अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबानका लडाकुहरुले काबुलमा उत्सव मनाएका थिए । तालिवानले त्यसलाई आफ्नो विजयका रुपमा परिभाषित गरेका छन् । तालिवानी नेताले आफुहरुले अमेरिकासँग पनि राम्रो सम्बन्ध चाहेको प्रतिक्रिया समेत दिएका छन् । सन् २००१ को सेप्टेम्बर ११ मा अल कायदाले गरेको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सैन्य अभियान थालेको थियो । त्यसपछि अफगानिस्तानको सत्ताबाट तालिबान हटेको थियो र फेरि अमेरिका बाहिरिने भएसँगै सत्तामा फर्किएको हो ।

अमेरिकी सैनिक फिर्तीको प्रक्रिया र त्यसले निम्त्याएको अस्तव्यस्ततालाई लिएर राष्ट्रपति वाइडेन अन्तर्राष्ट्रिय रुपमै आलोचना भैरहेकोे छ । तीनलाख भन्दा बढी सैन्यबल रहेको भनिएको अमेरिकी समर्थनको घानी नेतृत्वको अफगानी सरकार तासको घरजस्तै क्षणभरमा भताभुङ हुन पुगेको थियो । ६० हजारको हाराहारीमा रहेको भनिएको तालिवानी लडाकुहरुले एक पछि अर्को गर्दै ११ दिन भित्र अफगानिस्तानलाई पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो । उसले अगस्ट १५ मा काबुलमा नियन्त्रण कायम गरेको थियो ।

अमेरिका र तालिवान नेताबीच कतारमा भएको सम्झौता अनुरूप अमेरिकाले अगस्ट ३१ भित्रै अफगानिस्तानबाट आफ्नो नेतृत्वको सबै विदेशी सेना हट्ने बताएको थियो । अमेरिकीसहितका नेटो सैनिक फिर्ता हुने निर्णयसँगै अफगानिस्तानको सत्तामा तालिवान फर्किएको छ । अगस्ट १५ तारिकमा तालिवानी लडाकुले काबुललाई पूर्ण नियन्त्रणमा लिएपछि अफगानिस्तान चरम आन्तरिक समस्यामा रुमलिएको छ । अहिलेसम्म अफगानिस्तान सरकार विहिनको अवस्थामा छ । अन्योलतामा जकडिरहेको छ ।