पत्रपत्रिकाबाट
काठमाडौं – सत्तारुढ दल काङ्ग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा काङ्ग्रेसभित्र गुट उपगुट सक्रिय भएका छन् ।महाधिवेशनबाट आफू कसरी स्थापित हुने र नेतृत्व हात पार्ने भनेर शीर्ष नेताहरू नै गुट बनाउन थालेका छन् । १३ औं महाधिवेशनसम्म पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको गुट गरी ३ गुट सक्रिय थियो । तर, १४औं महाधिवेशन आउँदै गर्दा विमलेन्द्र निधि र डा। शेखर कोइराला नेतृत्वको गुट थपिएका छन् । योसँगै काङ्ग्रेसमा ५ गुट सक्रिय देखिएका छन् ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सरकार सञ्चालनमा भन्दा महाधिवेशनमा बढी केन्द्रित भएको आरोप पनि लाग्ने गरेको छ । हाल उनी सातै प्रदेशका आफ्ना गुटका नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् । देउवा गुटमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, सदस्य चित्रलेखा यादव, सदस्य बालकृष्ण खाँण, सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलगायत सक्रिय छन् ।

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आफ्ना निकटका कार्यकर्तासँग दैनिक छलफलमा व्यस्त छन् । पौडेल समूहमा सभापतिका आधा दर्जनभन्दा धेरै आकाङ्क्षीसमेत रहेका छन् । यस गुटमा डा.शशांक कोइराला, सदस्य डा. मिनेन्द्र रिजाल, सदस्य अर्जुन नरसिंह केसी, सदस्य प्रकाशमान सिंह, डा. रामशरण महत, कोषाध्यक्ष सितादेवी यादवलगायत सक्रिय छन् । १३ औं महाधिवेशनसम्म निकै सक्रिय पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गुट पनि १४ औं महाधिवेशन नजिकिँदै गर्दा सक्रिय भएको छ । उनको गुटमा सदस्य गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईं, भीमसेन प्रधान, धना खतिवडालगायत सक्रिय छन् ।

त्यस्तै, विद्यार्थी राजनीतिदेखि नै देउवासँग निकट रहेका उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो छुट्टै गुट निर्माण गरी महाधिवेशनमा उम्मेदवार हुने घोषणा गरिसकेका छन् । उनले सम्पर्क कार्यालय खोलेर प्रचार प्रसारसमेत सुरु गरिसकेका छन्। यद्यपि, निधि भने छुट्टै गुट भन्न रुचाउँदैनन् । ‘मेरो उम्मेदवारी गुटगत राजनीतिभन्दा माथि छ, निधि भन्छन, ‘गुट भन्न मिल्दैन । मेरो उम्मेदवारी आओस् भन्ने सबै गुटका साथीहरूको आग्रह हो ।’ महाधिवेशन प्रतिनिधि चयनपछि नेताहरू आफ्नो पक्षमा खुल्ने निधि बताउँछन् ।

महाधिवेशन नजिकिँदै जाँदा कोइराला परिवारको अर्को गुट पनि सक्रिय भएको छ । जसको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेका छन् । यस गुटमा चन्द्र भण्डारी, बद्री पाण्डे, गुरु घिमिरे, सरिता प्रसाईंलगायत सक्रिय छन् । काङ्ग्रेसमा गुटको राजनीति अभिन्न अंग जस्तै भएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । ‘अन्तर्राष्ट्रिय रूपमै हेर्दा पनि गुटको राजनीति छरपस्ट देखिन्छ । शर्मा भन्छन, ‘यसलाई सामान्य मानिन्छ । काङ्ग्रेस पार्टी पनि त्यसबाट मुक्त छैन ।’ कांग्रेसमा ५ वटा गुट सक्रिय रहे पनि महाधिवेशनको समीकरणमा भने कतिपय गुट भत्किने र एक–अर्कामा विलय हुने अवस्था छ । गुटसँगै कांग्रेसमा अन्तर्घातको शृङ्खला पनि पुरानै हो ।

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले गुटका कारण सक्षम मान्छे पछि पर्ने गरेको बताउँछन् । उता देउवा गुटमा निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिको आकांक्षा देखाएपछि देउवाको विकल्पको खोजी भएको देखिएको छैन । पौडेल समूहमा सभापतिका आधा दर्जनभन्दा धेरै आकांक्षी छन् । त्यसैले अहिले काङ्ग्रेसमा देउवा र पौडेलको विकल्पको खोजी भएको चर्चा हुन थालेको छ ।

त्यस्तै, कांग्रेसमा हाल देउवा, निधि, पौडेल, सिंह, शशांक, शेखर कोइराला, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला र कल्याण गुरुङ सभापतिका आकाङ्क्षी देखिएका छन् । महाधिवेशनमा पहिलो चरणको चुनावमा आधा दर्जन उम्मेदवार हुन सक्ने काङ्ग्रेस नेताहरूकै विश्वास छ । काङ्ग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । त्यसैले पहिलो चरणमा कसैले ५० प्रतिशत मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुन्छ ।

पार्टीभित्रको गुटबन्दी प्रजातान्त्रिक अभ्यासमा नौलो नभएको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् । तेस्रो धार मानिएका कृष्णप्रसाद सिटौलालाई केन्द्रीय सदस्य गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल र शिव हुमागाईंको बलियो साथ रहँदै आएको थियो । चौधरी र हुमागाईं भने क्याम्प छाडेर देउवा गुटमा प्रवेश गरेको छ । अन्नपुर्ण पोष्ट दैनिकबाट