काठमाडौं – कोभिड–१९ को सङ्क्रमणदर दिनानुदिन बढ्दै गएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनःकडा निषेधाज्ञा गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिँदै आएको छ । कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न नसक्नेगरी बढ्दै गए कडा निषेधाज्ञा गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै मन्त्रालयले सचेत गराएको छ ।

कोरोनाको सङ्क्रमणदर फैलिन नदिन बढी भीडभाड हुने सामाजिक क्रियाकलापहरु नगर्न र खोप लगाएका तथा नलगाएका सबैले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न पनि मन्त्रालयले आग्रह गर्दै आएको छ । सङ्क्रमणको अवस्थालाई हेरेर जिल्ला तहमा निषेधाज्ञा कतिसम्म कडा वा खुकुलो गर्ने भन्ने जिम्मा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीलाई दिइएको छ ।

सक्रिय सङ्क्रमितको संख्या पाँच सयभन्दा बढी रहेका जिल्लाहरूमा अहिले पनि निषेधाज्ञा कायम नै छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल भन्नुहुन्छ– काठमाडौंको हकमा भने अहिले पर्ख र हेर कै अवस्था रहेको छ । कोरोना सङ्क्रमणले उच्च रूप लिँदै गए मन्त्रालयले सीसीएमसीलाई निषेधाज्ञाका लागि सिफारिस गर्ने प्रवक्ता डा.पौडेल बताउनुहुन्छ ।

नेपालमा भाद्र महिनाको १५ दिनमा मात्रै २७ हजार ८ सय ९ जना सङ्क्रमित थपिएका छन् भने ४ सय २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार यो १५ दिनको अवधिमा एक लाख ३८ हजार ३ सय ६४ वटा नमुनाको कोभिड परीक्षण गर्दा २७ हजार ८ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । अहिले दैनिक थपिने संक्रमितको संख्या दुई हजारदेखि ३ हजारको बीचमा छ । लामो समय स्थिर रहेको यो संख्या चाडपर्व नजिकिँदै गर्दा बढ्नसक्ने विज्ञहरूको आंकलन छ ।

भाद्र १५ सम्म नेपालमा कोरोना सङ्क्रमित हुनेको संख्या ७ लाख ६२ हजार ६ सय ४७ पुगेको छ भने सक्रिय सङ्क्रमितको संख्या ३५ हजार ५ सय ९१ रहेको छ । २० जिल्लामा सक्रिय सङ्क्रमितको संख्या पाँच सयभन्दा बढी रहेको छ भने १८ जिल्लामा २ सयभन्दा बढी छ । नेपालमा हालसम्म कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको छ । हाल सङ्क्रमणको जोखिमका हिसाबले २० जिल्ला ‘रेड जोन’मा रहेका छन् ।

पछिल्लो समय कोरोना सङ्क्रमितको संख्यामा आएको उतारचढावले अझै पनि सङ्क्रमण समुदायस्तरमा फैलिनसक्ने जोखिम रहेको विज्ञहरूको आंकलन छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरवहादुर पुन चाडपर्व र चहलपहल बढ्दै जाँदा अहिलेसम्म सङ्क्रमित नभएका व्यक्तिहरू अर्थात् नयाँ सङ्क्रमित थपिने सम्भावना बढी हुने बताउनुहुन्छ ।

“नयाँ भेरियन्ट थपिएमा त्यससले तेस्रो लहर निम्त्याउन सक्छ । सङ्क्रमण बढ्ने वातावरण भएमा अहिले फैलिइरहेकै भेरियन्टले गर्दा पनि सङ्क्रमितको संख्या उच्च हुनसक्ने देखिन्छ । डा. पुन भन्नुहुन्छ –पहिलो वा दोस्रो लहरको जस्तो सङ्क्रमण एकदमै उच्च हुने सम्भावना भने तत्काललाई देखिँदैन ।” नेपालमा अहिले डेल्टा र डेल्टा प्लस भेरियन्ट सक्रिय रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाले जनाएको छ ।