काठमाडौं – सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) बाट निर्वाचित १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । नेकपा एकीकृत समाजवादीमा सनाखतका लागि १० सांसद आज प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको सांसद अमरबहादुर साउँदले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन सांसदहरूको भने कागजपत्र नपुगेकाले भोलि सनाखत हुनेछ । उहाँले दीर्घबहादुर सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको हस्ताक्षर भोलि हुने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीमा सनाखतका लागि प्रदेश निर्वाचन कार्यालय पुगेका सांसदहरूमा पूर्णा जोशी, माया भट्ट, दुर्गा विक, अमर साउँद, कुलवीर चौधरी, मीना साउँद, दल बहादुर सोडारी, चुनकुमारी चौधरी, लालबहादुर खड्का, सुशीला बुढाथोकी रहेका छन् ।

सुदूरपश्चिममा एमालेबाट सभामुखसहित २४ सांसद निर्वाचित भएका थिए । एमाले विवादमा माधवकुमार नेपालको पक्षमा १७ सांसद उभिएका थिए । तीमध्ये १३ सांसदले नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) रोज्ने भएका हुन् ।