विराटनगर – नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा परेको छ । नेकपा विभाजनका कारण गत भाद्र ११ गते गठन भएको सरकार अल्पमतमा परेपछि सरकार टिकाउन र ढाल्नका लागि सांसदहरु तानातानको अवस्थामा पुगेका छन् ।

सत्ता पक्षले माधव नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने र पार्टीमा जिम्मेवारी दिने ‘अफर’ गरेको छ । पछिल्लो समय माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षका १० जना सांसद खुलेका छन् । ती सांसदहरू एमालेमा नफर्किने प्रदेशसभाका एक सदस्यले बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘हामी १० जना मोही पार्दा निस्किएको नौनीको पनि क्रिम जस्तै हौं, दायाँ–बायाँ हुन्नौं ।’ ‘यो संख्या घट्दैन, बढ्दैछ ।’

एमालेका सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बु, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा हुनुहुन्छ । उहाँहरुले भोलि बुधबार नयाँ दल रोज्नका लागि निर्वाचन आयोगमा जाने तयारी गरिरहनु भएको छ । नयाँ संसदीय दल दर्तासँगै नयाँ सरकार गठनको तयारी शुरु गर्ने उहाँहरु बताउनुहुन्छ ।

९३ सदस्यीय प्रदेश १ सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा एमालेका सभामुखसहित ५१ जना सांसद छन् । तीमध्ये १० जना सांसदले नयाँ पार्टी रोजेका कारण वर्तमान सरकार ढल्ने पक्कापक्की भएको समाजवादी पार्टीका नेताहरु बताउनुहुन्छ ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आफ्नो पक्षमा बहुमत जुटाउने दावी गर्नुभएको छ । ‘जनतासँग मुख्यमन्त्री कार्यक्रम’मा उहाँले नेकपा एमालेका सांसदलाई एमालेमै राखेर बहुमत जुटाउने प्रयास भइरहेको बताउनुभएको हो ।

नयाँ पार्टी रोज्ने तयारीमा रहेका १० जना सांसदसँग सम्पर्कमै रहेको बताउँदै उहाँले एमालेकै बहुमत गुम्न नदिने प्रयास भइरहेको जानकारी गराउनुभएको छ ।

उहाँले आफू रहरले मुख्यमन्त्री नभएको बताउँदै पार्टी विभाजन हुँदा एमालेको क्षति कम गर्न मुख्यमन्त्री बन्न तयार भएको जिकिर गर्नुभयो । मुख्यमन्त्री आचार्यले आफूसँग काम गर्ने दृष्टिकोण भएका कारण विपक्षी दलहरुलाई समर्थन गर्न आग्रह समेत गर्नुभएको छ ।