सुर्खेत– प्रमुुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै एमालेका कार्यकर्ताहरुलाई उत्तेजित पारेर, भ्रम फैलाएर बोल्न र त्यस किसिमको हर्कत् नगर्न चेतावनी दिनुभएको छ । एमालेको कर्णाली प्रदेश कमिटीले आज मङ्गलबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले उक्ता अभिव्यक्ति दिनुभएको हो ।

कर्णाली प्रदेशका इन्चार्ज समेत रहनु भएका उपाध्यक्ष ज्ञवालीले पत्रकार सम्मेलनमार्फत् पार्टीका अगुवा कार्यकर्तालाई सचेत तुल्याउँदै केपी ओलीलाई दोष दिएरमात्र कसैले छुट नपाउने भन्दै जनताप्रति उत्तरदायी बनौं विवेक पु–याएर, संयम भएर, धैर्यका साथ बोल्नु आग्रह गर्नुभयो । नेता ज्ञवालीले ‘रिस उठ्यो भन्दैमा जे मन लाग्यो त्यो गर्नु नहुने भन्दै जिम्मेवार मान्छेले जिम्मेवार व्यवहार र बोलीवचन जिम्मेवार हुनुपर्छ’ भन्नुभएको छ ।

उपाध्यक्ष ज्ञवालीले एसका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ‘एमाले र केपी ओलीलाई मात्र दोष दिएर तपाईहरुले छुट पाउनुहुन्न, काम गर्दा कमजोरी हुन सक्छ, खराब हुन सक्छ, तर त्यसको अर्थ पार्टी नै काम लाग्दैन भन्ने अर्थ निकाल्नु र त्यो अर्थमा पार्टी नै विभाजन गर्नु धेरै दुर्भाग्यपूर्ण काम हो, यो गलत बाटो हो’ भन्नुभयो ।

आफ्नो राजनीति अभिष्ठ पूरा गर्न घृणाको संस्कृति फैलाएर कसैलाई गाली गलौज गरेको जनताको मन जित्न नसकिने भन्दै नेता ज्ञवालीले विकास निर्माणको काम कसले कसरी गर्छ भन्ने हेरेर नै जनताले आउने चुनावमा फैसला गर्ने धारणा व्यक्त गर्नु भयो । नेता ज्ञवालीले सबै राजनीतिक दल मिलेर बनाएको संविधान जोगाउनु, लोकतन्त्र जोगाउनु सबैको दायित्व हो भन्दै नेपाली जनताको बीचमा घृणा फैलाउने, द्वन्द्व बढाउने काम नगर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।